पु.समाचार

सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाण्डौ । माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य चुनावका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरे बमोजिम ती ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको हो ।

प्रदेश नम्बर–१, को मोरङ, प्रदेश नम्बर–२, को धनुषा, प्रदेश नम्बर–३, को ललितपुर, प्रदेश नम्बर–४, को कास्की, प्रदेश नम्बर–५ को दाङ, प्रदेश नम्बर–६ को सुर्खेत र प्रदेश नम्बर–७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले न्याय परिषद्को सचिवालयबाट सिफारिस गरिएका सात जना जिल्ला न्यायाधीशलाई पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको जनाएको छ ।