राजनीति

काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो, चुनावी समिक्षा मुख्य एजेण्डा

काठमाण्डौ । लामो समयपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारका लागि केन्द्रीय कार्य समितिको बैठकको मिति तोकिएको हो ।

मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी हार व्यहोरेपछि काँग्रेसको नीति र नेतृत्व नै फेरिनुपर्ने आवाज उठ्दै आएको छ।

नेताहरु नवीन्द्रराज जोशी र गगन थापासहितले चुनावको पराजयको प्रमुख दोषी सभापति शेरबहादुर देउवा भएकाले उनले राजीनामा दिएर नयाँलाई बाटो प्रशस्त गर्नुपर्ने अडान राख्दै आएका छन् ।

अर्कातिर नेताहरु विश्वप्रकाश शर्मासहितले निर्वाचनको पराजयको दोष पार्टी सभापतिको टाउकोमा मात्रै थोपरेर अरु नेता उम्किन नपाइने बताउँदै आएका छन् ।

केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा कांग्रेसमा गुटगत सक्रियता पनि बढेको छ । केही दिनदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितले गुटगत भेला गरिसकेका छन् ।

अर्कातिर कोइराला परिवारका शेखर, शशांक र सुजाता पनि कोइराला परिवार तथा कांग्रेसको विरासत थेग्न भन्दै छुट्टै गुट निर्माणमा सक्रिय भएका छन् ।

देउवा पक्षले भने चुनावमा पराजय वाम गठबन्धन पनि भएको बताउँदै आन्तरिक कारणबारे छलफल गर्न सकिने तर एउटा व्यक्तिलाई मात्रै दोषी बनाउन नहुने अडान राखिरहेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठक माघ ४ गते बिहान ११ बजेलाई बैठक बोलाइएको जानकारी दिए ।

‘‘माघ ४ गतेका लागि बोलाइएको केन्द्रीय कार्य समिति बैठक पहिलो चरणमा राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत हुन्छ’’, उनले भने, ‘‘त्यस लगत्तै अहिलेसम्म उठ्दै आएका राजनीतिक विषयवस्तुहरुले बैठकमा प्रवेश पाउनेछन् ।’