पु.समाचार

सपथ नलिई डन मनाङ्गे पाँच बर्ष जेल जाने, गणेश लामा सहित चारले पाए सफाई

काठमाडौँ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा राजीव गुरुङ (दीपक मनाङ्गे) समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ ।

न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज मनाङ्गे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने २०६४ सालको पुनरावेदनकै फैसला सदर गरेको सहमहान्यायाधिवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।

दीपक मनाङ्गेको समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको विषयमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा कर्तव्य ज्यानको मुद्दा चलाएको थियो । जिल्ला अदालतले मनाङ्गेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो र गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने फैसला गरेको थियो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा कर्तव्य ज्यान मुद्दामा नै पुनरावेदन गरेको थियो । पाटन अदालतले दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने अरू चार जनालाई काठमाडौँ अदालतको आदेशलाई सदर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले मनाङ्गे समूहका चार जनालाई पनि जेल सजायको माग गरी सर्वोच्च अदालतमा अन्तिम पुनरावेदन गरेको थियो । सहन्यायाधिवक्ता रेग्मीका अनुसार सर्वोच्च अदालतमा मनाङ्गेको नाममा पुनरावेदन गरिएको थिएन । मनाङ्गेको पुनरावेदन गर्ने समय पत्रिकामा प्रकाशित गरेको थियो तर मनाङ्गेले पुनरावेदन गर्ने समय सकिएपछि अदालतमा पेशी चढेको हो ।

पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै आज सर्वोच्च अदालतले मनाङ्गे समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालतको फैसला सदर गरेको तर मनाङ्गेको विषयमा सर्वोच्च अदालतले केही पनि बोलेको छैन । पाटन अदालतको फैसला सदर गरेपछि अदालतले बोल्न जरुरी देखिन्न । र उनी पाँच बर्ष जेल जान्छन् ।

पुनरावेदन अदालत पाटनले सुनाएको पाँच वर्षको कैद सजाय हुने भएपाि मनाङ्गेको नाम जोडिएर आएको छ । पुनरावेदन अदालतले सुनाएको फैसला भने कार्यान्वयन भएको देखिदैन । मनाङ्गेले प्रदेशसभा निर्वाचनमा मनाङ्ग प्रदेश (ख) बाट विजयी भएका थिए । उक्त फैसलासँगै प्रदेशसभाको सदस्यको सपथ नलिईकन मनाग्गेको पद धरापमा परेको छ ।