कृषि

सिँचाइ सुविधा पुगेपछि रामपुरका कृषकलाई राहत

रामपुर । वर्षौंदेखि बाँझिएका जमिनमा सिँचाइ सुविधा पुगेपछि रामपुर नगरपालिका–१० हेक्लाङ क्षेत्रका १२८ घरधुरी लाभान्वित भएका छन् ।

पर्याप्त जमिन हुँदाहुँदै पनि सिँचाइ सुविधा नहुँदा निराश बनेका यहाँका कृषकलाई अहिले सिँचाइका कारण राहत मिलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै पकेट क्षेत्र कार्यक्रमको साना सिँचाइ आयोजनाबाट कुलो निर्माण तथा मर्मत गरिएको हो ।

यहाँ बराहदेवी खायन मकै पकेट क्षेत्र खेतखण्ड र दुर्गादेवी मन्दिर खायन बारीखण्ड गरी दुईवटा पकेट क्षेत्रमा करिब ४०० रोपनी क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा छ । “कुलो पक्की नहुँदा मुहानदेखि नै पानी ल्याउन सकिएको थिएन, गत वर्ष सिँचाइ आयोजनाको काम शुरु भएपछि अहिले बाँझिएका खेतबारीमा सिँचाइ गर्न सहज भएको छ,” खेतखण्डका सचिव ऋषिराम भण्डारीले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रु चार लाख ४० हजार अनुदान तथा स्थानीयवासीको श्रमदानमा खेतखण्ड र बारीखण्डमा एकैसाथ साना सिँचाइ आयोजना निर्माण गरिएको हो । खेतखण्डमा ७७ घरधुरी र बारीखण्डमा ५१ घरधुरी सिँचाइ आयोजनाबाट लाभान्वित बनेका छन् । खण्डहरमा परिणत भएका जमिनमा सिँचाइ सुविधा पुगेपछि कृषकले खाद्यान्न तथा तरकारी खेती शुरु गरेको बारीखण्डका सचिव लिलानाथ भण्डारीले बताए ।

मकै पकेट क्षेत्र छनोट गरेर उत्पादन वृद्धि गराउन कृषि शाखा रामपुर र कृषकको समन्वयमा निर्माण गरिएको साना सिँचाइ आयोजनाको काम पहिलो वर्षमा नै लक्ष्यभन्दा बढी प्रभावकारी बन्न सफल भएको कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताए ।

जमिन सिञ्चित हुन थालेपछि यहाँका कृषकले व्यावसायिक तवरले कृषि कार्य गर्न थालेका छन् । साना सिँचाइ आयोजनाले व्यावसायिक कृषितर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

रामपुरका बोटे कृषिमा आकर्षित

रामपुरका बोटे समुदाय कृषि कार्यतर्फ आकर्षित हुँदै गएका छन् । कालीगण्डकीका विभिन्न घाटमा पुर्खादेखि गर्दै आएको डुंगा चलाउने, माछा मार्ने पेशा खोसिएपछि अहिले उखुखेती, तरकारी खेती, कुखुरापालन, बाख्रापालन लगायत व्यवसायतर्फ सक्रिय हुँदै गएका हुन् ।

बोटे समुदायको ठूलो बस्ती रहेको रामपुर नगरपालिका–३ गण्डकीढिकका सबैजसो बोटे कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर साँझ बिहान हातमुख जोर्ने गर्थे । नदीका विभिन्न घाटमा पुल बनेसँगै पेशा खोसिन पुगेपछि उनीहरु कृषि कार्यमा लागेका हुन् ।

डुंगा चलाउन नपाएपछि बुद्धबहादुर बोटे व्यावसायिक उखुखेतीमा आबद्ध हुनुुहुन्छ । उहाँले डेढ रोपनी जग्गामा उखु लगाएर वर्षमा रु डेढ लाखसम्म कमाइ गर्दै आउनुभएको छ । “बाउबाजेको पालादेखि गर्दै आइरहेको डुंगा चलाउने पेशा खोसियो, अब बाँच्नकै लागि केही न केही गर्नुप¥यो भनेर घरमै बसेर उखुखेती गरिरहेको छु”, उहाँले भन्नुभयो । बोटेले छिमेकीको जग्गा भाडामा लिएर उखुखेती गर्नुभएको हो ।

फुलमाया बोटेले पनि घरायसी कामकाजसँगै दुई चार पैसा आम्दानीका लागि उखु लगाउन थालेकी छन् । उनी भन्छिन्, “पहिला श्रीमान्ले कालीगण्डकीमा डुंगा चलाउने गर्नुहुन्थ्यो, डुंगा तारेबापतको ज्याला लिन दिनभर गाउँ गाउँ पुगेर धान, चामल, भटमास, मकै लिएर साँभm घर आएर त्यसैबाट हातमुख जोर्ने गथ्र्यौं ।”

“अहिले पेशा नै बन्द भयो, छोराछोरीको पढाइ खर्च, लालनपालन घर व्यवहार चलाउन धान, मकै, गहुँ लगाएर मात्र गाह्रो प¥यो, त्यसपछि दुई चार पैसा आम्दानीका लागि तरकारी, उखु लगाउन थालेकी हुँ,” उनले भनिन् ।

आर्थिक उपार्जनका निम्ति यहाँ रहेका झण्डै ३६ घरधुरी बोटे समुदाय कृषि कार्यमा निर्भर हुँदै गएका छन् । बाँझो जग्गा सिँचाइका लागि रामपुर नहर सञ्चालनमा आएपछि धान, गहुँ, मकै, तरकारी बाली लगाउन सजिलो भएको खिमबहादुर बोटेले बताए ।

एकाएक डुंगा चलाउने पेशा विस्थापित हुँदा निराश बनेका यहाँका बोटे समुदाय बालबच्चाको शैक्षिक क्षेत्रमा पनि कृषि कार्यबाट भविष्य अगाडि बढाउन लागेका छन् । पहिले पहिले प्रयोगमा नआउँदा बाँझिएका बोटे गाउँका जग्गाहरु डुंगा चलाउने पेशा कालीगण्डकीमा विस्थापित भएपछि अहिले सदुपयोगमा आउन थालेको स्थानीयवासी गोविन्द्रप्रसाद दुवाडी बताउँछन् । डुंगा चलाउने कार्य हराएपछि बोटे समुदायको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको स्थानीयवासीको भनाइ छ ।