राजनीति

विकास र रोजगार नै मुख्य एजेण्डा हुनुपर्छः अध्यक्ष यादव

पर्सा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विकास निर्माण र रोजगार सिर्जना नै अब राजनीतिक दलको मुख्य एजेण्डा हुनुपर्ने बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको पहिलो नगर परिषद्को उद्घाटन गर्दै उहाँले नेताको भाषणले जनताको आवश्यकता पूर्ति नहुने भएकाले सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा नै विकास र रोजगारी हुनु आवश्यक रहेको बताए।

अध्यक्ष यादवले मुलुकमा विकास भए मात्र रोजगारीको सिर्जना हुने भएकाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा विद्यमान अभाव र बेरोजगारी अन्त्यका लागि राजनीतिक दलहरुले प्रयास गर्न जरुरी रहेको बताए ।

पूर्व उपप्रधानमन्त्री अध्यक्ष यादवले तराईका जिल्लामा स्वास्थ्य र शिक्षाको स्तर कमजोर रहेकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताए ।

पहिलो नगर परिषद्को सफलताको शुभकामना दिँदै अध्यक्ष यादवले देशकै आर्थिक राजधानी हुने पूर्वधार र सम्भावना रहेको वीरगन्जलाई प्रान्तीय राजधानीको झगडामा नअल्झाउन आग्रह गरे ।

नगर परिषद्लाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले रु चार अर्ब २२ करोड २५ लाख ८९ हजारको आर्थिक वर्ष २०७४/७५ को अनुमानित बजेट प्रस्तुत गरेका छन् । उनले व्यायतर्फ चालु खर्चमा रु एक अर्ब २३ करोड ५९ लाख ६८ हजार र पूँजीगततर्फ रु दुई अर्ब ९८ करोड ६६ लाख विनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, विलम श्रीवास्तव र हरिनारायण रौनियारले सिंहदरबारको अधिकार स्थानीयस्तरमा आएकाले जनताको विकास लागि उक्त अधिकारको सदुपयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।