अन्तर्राष्ट्रिय

मुस्लिम ब्रदरहुड विद्यार्थीलाई जेल सजायको विरोध

कायरो । इजिप्टको हाल प्रतिबन्धित राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा इजिप्टको एक अदालतले यहाँका १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय सुनाएकोमा अधिकारवादीले त्यसको विरोध गरेका छन् ।

ती विद्यार्थी इस्लाम केन्द्रीत रहेको अल अजार विश्वविद्यालयका हुन् । उनीहरुलाई सो अदालतले गतहप्ता मात्र यस्तो फैसला सुनाएको हो ।

इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएअनुसार उक्त अल अजार विश्वविद्यालय नै इजिप्टका अपदस्थ पूर्वइस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित छ ।

वर्तमान सरकारले उक्त विश्वविद्यालयलाई प्रतिबन्धित गरेको थियो । ती विद्यार्थीहरुले उक्त प्रतिबन्धित विश्वविद्यालयबाट मोर्सीको पार्टीलाई समर्थन गर्ने काम गरेको आरोप उक्त अदालतको छ ।

इजिप्टका मानवअधिकारवादीले उक्त विश्वविद्यालयका विद्यार्थीलाई शान्तिपूर्णरुपमा विरोध गरेको आरोपमा यसरी वर्षौँको जेल सजाय सुनाउनु न्यायसंगत नभएको र उनीहरुको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको बताएका छन् ।

यस्तै अर्को एक मुद्दामा पनि गिजा अपराध अदालतले गत महिना थप सात जनालाई तीन बर्ष जेल सजायको फैसला सुनाएको थियो ।

यी विद्यार्थीको मुद्दा भने पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गरिएको हो । यो नै अन्तिम फैसला गरिएको हो ।

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्थ गरिएको थियो । त्यस समयमा उहाँको समर्थनमा आम प्रदर्शन भएका थिए । उहाँको पक्षमा गरिएका भनिएका यी प्रदर्शनका बारेमा पछिसम्म नै सरकारले खोजी गरिरहेको छ ।

नेता मोर्सीको पक्षमा रहेको ब्रदरहुड समूहलाई आतङ्कबादी समूहको रूपमा प्रतिबन्ध समेत गरिएको थियो । उहाँ अहिले पनि जेलमा हुनुहुन्छ ।

सो समयमा भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौँको मृत्यु भएको थियो भने हजारौँलाई गिरफ्तार भएका थिए । ती मध्ये कतिपय अहिले पनि जेलमा रहेका छन् ।