खेलकुद

भलिबलमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँछुः अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलको विकासका लागि यस वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट ठूलो आर्थिक सहयोग उपलब्ध गराउन प्रक्रिया शुरु गरिएको बताएका छन् ।

नेपाल भलिबल संघले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनले प्रत्येक वर्ष एउटा खेलकुदको विधामा प्राप्त हुने सो सहयोग यसपटक भलिबलका लागि माग गरिएको जानकारी दिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट निर्वाचित सांसद श्रेष्ठले भलिबल खेलका लागि विगतमा विनियोजन गरिएका रकम अपुग भएको र यस खेलको विकासमा निजी क्षेत्रको सहकार्य र सहयोग अत्यावश्यक भएको बताए ।

संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले खेलकुद क्षेत्रको विकासले देशको पहिचान अन्तर्राष्ट्रिय तहमा फैलाउन सकिने विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा यही माघ १४ र १५ गते हङकङ र मकाउमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल खेल्न जान लागेको नेपाली टोलीलाई बिदाइसमेत गरिएको थियो ।

उक्त सहयोग प्राप्त भएमा सो राशि दुई लाख अमेरिकी डलरभन्दा माथिको हुने बताइएको छ ।