राजनीति

काँग्रेसका पार्कीको उम्मेदवारी कायमै, एमालेका थापाको उम्मेदवारी रद्द

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी कायमै राख्न र प्रदेश नं ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको आयोगले आज जनाएको छ ।

उम्मेदवार पार्कीलाई नगर समितिको सदस्य भई लाभको पदमा रहेको र थापाले पेश गरेको अपाङ्गताको प्रमाणपत्र उम्मेदवारी दर्तापछि मात्रै बनाएको भनी उजुरी परेको थियो । आयोगको आजको बैठकको निर्णयमा प्रदेश नं ७ का उम्मेदवार शेरीराम पार्की नगरपालिका सदस्य भएकै कारणले निजको उम्मेदवारी रद्द गरिरहनु नपर्ने निर्णय गरेको छ ।

प्रदेश नं ४ बाट अल्पसंख्यक वा अपाङ्गता समूहअन्तर्गत अपाङ्गताका आधारमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिनुभएका रामबहादुर थापाले मनोनयनपत्र साथ पेश गरेको अपाङ्गताको परिचयपत्र अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई नेपाल सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो । उम्मेदवार थापाले माघ १० गते उम्मेदवारी दर्ता गरेपछि माघ १२ गते नयाँ अपाङ्गताको प्रमाणपत्र बनाएर पेश गरेका थिए ।