समाचार

विकट बस्तीमा नमूना घरबास

कपिलवस्तु । कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन् । आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा थिएन ।

पछिल्लो समयमा भने केही फरकपना आएको छ । सडकमा मोटरबाइक, ट्र्याक्टर लगायतका सवारी हिँडेको हुन्छन् । खानेपानीको यो गाउँमा राम्रो सुविधा रहेको छ । यो बस्तीमा पुग्न दुई वटा खोलामा पुल नहुँदा बर्खाको समयमा झोलुङ्गेपुलको भरपर्नु पर्छ । त्यसकारण यहाँ ठूला सवारी जान सक्दैनन् । साबिक गुगौली गाविस तथा हाल विजयनगर गाउँपालिका–१ मा यो गाउँ परेको छ । राजमार्गबाट भने तीन वटा खोला तरेपछि यो गाउँमा पुग्न सकिन्छ । बाटोमा जंगल, खोला र केही बस्ती पर्ने भएकाले मनोरमका दृश्य पनि देख्न सकन्छ ।

विजयनगर गाउँपालिकाले यस वर्ष यस गाउँमा घरबास (होम स्टे) निर्माण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको लगानीमा यस गाउँमा नमूना घरबास सञ्चालन गर्ने गाउँपालिका प्रमुख गोपाल थापाले बताए । उनले भने, “यस गाउँमा घरबास सञ्चालन गरेर गाउँवासीलाई रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ ।”

गाउँपालिकाकै विकट ठाउँ भनेर चिनिने यो बस्तीको विकासका लागि नमूना घरबासको योजना ल्याउनु गौरवको विषय रहेको स्थानीय बुद्धिजीवी बताउँछन् । यस वर्षदेखि नै घरबास निर्माणको काम शुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले बताए । चौधरी भने, “यस पटक घरबास निमार्णका लागि रु २० लाख बजेट छुट्याएका छौँ तर यस बजेटले मात्र पुग्दैन ।” आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्न कार्यक्रम गर्न लागिएको चौधरीले वताए । पछिल्लो समय नेपाली युवायुवतीको आकर्षक गन्तव्यस्थलका रुपमा नेपालकै ग्रामीण घरबास पर्न थालेपछि यो क्षेत्रमा घरबास कार्यक्रम शुरु गरिएको हो ।

पहिलो पटक २० जना पर्यटक अटाउने घरबास निर्माण गरिने भएको छ । दिनभरि पर्यटकले यहाँ रहेका पर्यटकीय स्थलमा घुम्ने र बेलुकी विभिन्न समुदायले सञ्चालन गरेका घरबासमा पुगी पारिवारिक वातावरणमा रमाउन पाउने सुविधा उपलब्ध हुनेछ । भान्सा घरमा बसेर थारू, मगर, अवधि परिकार खानपिनको आनन्द लिई उनीहरूको संस्कृति अवलोकन गर्न पाउने व्यवस्था गरिने चौधरीको भनाइ छ । घरबास सञ्चालनमा आए पर्यटन क्षेत्रको विकाससँगै यहाँ बसोबास गर्दै आएका मानिसको आर्थिक हैसियतमा परिवर्तन आउने अपेक्षा गरिएको छ । गाउँ जंगलमा पर्ने भएकाले जंगललाई व्यवस्थित बनाउने र बाटोका किनारमा आकर्षक फूल रोपेर मनोरम बनाउने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाको यो योजनालाई स्थानीयवासीले स्वागत गरेका छन् ।