समाचार

विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ ।

वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले वडाभित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रतिपरिवार रु १० हजार बराबरका जस्तापाता वितरण गरे ।

त्यसैगरी विद्युतीकरणका लागि आर्थिक विपन्नताका कारण समस्या बेहोरिरहेका हेमबहादुर लिम्बू, तिलबहादुर विक, हर्कबहादुर लिम्बू, सुमित्रा माझी र जयबहादुर खड्कालाई प्रतिपरिवार रु छ हजार बराबरका मिटर बक्स, तारलगायतका विद्युतीकरणका सामग्री वितरण गरेको छ ।

यस्तै विभिन्न १६ परिवार लाभान्वित हुने गरी साना सिँचाइ तथा खानेपानीका लागि पाइप वितरण गरिएको वडा सचिव राम भट्टराईले बताए ।