अन्तर्राष्ट्रिय

हङ्गेरीको पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

बुडापेस्ट । हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ ।  प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका हुन् ।
निर्वाचनमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९.४२ प्रतिशत मत सत्तारुढ गठबन्धनले पाएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।
पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा पुगेको छ ।
त्यसैगरी तेस्रो स्थानमा एमएसजेडपीपी (सोसोलिष्ट डाइलग)पार्टीले १२.१३ प्रतिशत मत प्राप्त गरेको छ ।
त्यस्तै ६.६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५।४५ प्रतिशत मत ल्याएर लेफ्ट लिवरल डीके (डेमोक्रयाटिक कोलिसन) पनि संसदमा उपस्थित भएका छन् ।
पछिल्लो विवरण अनुसार संसदको १९९ सिट मध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । यसअघि सन् २०१४ र २०१० को भन्दा बढी मत अहिले आएको छ । सन् २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो ।
यसपछि हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित जस्तै भएको छ ।
प्रधानमन्त्री ओर्बान सन् २०१० देखि शक्तिमा आएकोमा अब तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।
हङ्गेरीमा आमनिर्वाचनका लागि ८० लाख मतदाता रहेका छन् भने झण्डै दश हजार मतदान केन्द्रहरु तोकिएका थिए ।