समाचार

स्वदेशमा उत्पादित जडीबुटी प्रयोग गर्नुपर्ने : वनमन्त्री

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने बताएका छन् ।

वनस्पति विभागको ५८ औँ वार्षिकोत्सव तथा १९ औँ वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपाली वनस्पतिको संरक्षण संवद्र्धन गर्दै यसको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। “स्वदेशी वनस्पतिबाट धेरै किसिमका औषधि बन्ने र सोही औषधिले स्वास्थ्यलाई फाइदा हुने हुँदा यसको उपयोग बढाउनु आवश्यक छ,”– उनले भने ।

मन्त्री बस्नेतले प्रकृतिले नेपाललाई अथाह वनस्पति दिएको बताउँदै उक्त वनस्पतिको संरक्षण र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वनस्पति क्षेत्रको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वनस्पति संरक्षणमुखीमात्र नभएर उपयोगमुखीसमेत हुनुपर्ने उनको भनाइ थियो ।

विभागका महानिर्देशक सञ्जीवकुमार राईले विस २०५६ देखि वनस्पति दिवस मनाउँदै आएको बताउँदै यसको उचित संरक्षण र संवद्र्धनमा विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

विश्वमा झण्डै चार लाख ५० हजार र नेपालमा १२ हजार वनस्पति रहेको विभागले जनाएको छ । कार्यक्रममा वनस्पति क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका प्राध्यापक डा रामप्रसाद चौधरीलाई राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयका प्राडा चौधरीलाई रु एक लाख नगद र दोसल्लाद्वारा सम्मान गरिएको हो । सोही अवसरमा मन्त्री बस्नेतले विभागले तयार गरेको पुस्तक ‘इसेन्सियल वेल अफ नेपाल र जर्नल अफ प्लान्ट रिसोर्स’ विमोचन गर्नुका साथै जीवनका लागि वनस्पति लेखिएको लोगो अनावरण गरेका थिए।