समाचार

भूमिहीनलाई पूर्जा वितरण

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ ।

वषैंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय पश्चिम नवलपरासीले गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरेको हो ।

नापी कार्यालयले गाउँपालिकाको करिब ६० गाउँ ब्लकमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई जग्गा धनीको जग्गा नाप नक्सा गरी जग्गा धनी पूर्जा वितरण गरेको हो ।

घरघडेरी र खेतको रुपमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई गाउँ ब्लक अन्तर्गतको २९२ हेक्टर क्षेत्रफलको जग्गाको लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख सुग्रिम यादवले बताए ।

हरेक पूर्जा पाउने जग्गाधीले जोतभोगको आधारमा कम्तीमा आठ धुर भन्दा बढी दुई कठ्ठासम्म जग्गाको पूर्जा पाएका छन् । यसै गाउँपालिकामा २५ प्रतिशत जग्गाधनीहरुले विभिन्न जग्गा विवाद र निवेदन नदिएकाले पूर्जा पाउनबाट वन्चित भएका छन् ।

विस २०६८ मा जिल्लाको साविक हकुई, सुक्रौली, अमरौड, रामनगर, सुनवल, माकर, जहदा, नर्सही, गुठीपर्सौनी, त्रिवेणी लगायतका गाविसमा लालपूर्जा वितरण भइसकेको छ ।

नाप नक्शा भइसकेको स्थानीय तहमा यसै महिनाभित्र पूर्जा वितरण गरिने छ, भने अरु बाँकी स्थानीय तहमा असार महिनाभित्रै पूर्र्जा वितरण गरिसक्ने नापी कार्यालयले जनाएको छ ।

जग्गाधनीले लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैँकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतका कार्यबाट वञ्चित थिए ।