राजनीति

नेतृत्वको व्यवस्थापनमा छलफल गर्न बाँकी : रावल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (एमाले) र नेकपा (माओवादी)बीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताएका छन् ।
रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै नेतृत्वको विषयमा छलफल हुन बाँकी रहेको स्पष्ट पारे ।

उनले नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकोले नै बैठक लम्बिएको हुनसक्ने जानकारी दिए । उपाध्यक्ष रावलले वैशाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भइनसकेको बताए ।
दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने उनको भनाइ छ ।

उनले सत्ता पक्ष र प्रतिपक्ष मुलुकलाई समृद्धि तर्फ लैजानका लागि एक साथ हिँड्नुपर्ने विचार व्यक्त गरे ।

भारतबाट नेपालको सीमाना क्षेत्रमा मात्र रेलमार्ग ल्याउने कुरा मान्य नभएको भन्दै उनले पहाड क्षेत्रमा रेलमार्ग विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘‘नेपालको सिमाना क्षेत्रमा भारतसँग पहिल्यै नै यातायात जोडिएको छ । अहिले पनि ती सिमानासम्म भारतले रेगमार्ग विस्तार गर्न आवश्यकता छैन’’ उनले भने, ‘‘हामीलाई पूर्व–पश्चिम रेलमार्ग चलाउन आवश्यकता रहेको छ ।’’

नेता रावलले भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।