समाचार

महासंघद्वारा रारा घोषणापत्र जारी

सुर्खेत । नेपाल पत्रकार महासंंघ कर्णाली प्रदेशका जिल्ला अध्यक्षको भेला नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारामा सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारद्वारा आयोजित ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभारम्भसँगै रारामा भएको अध्यक्ष भेलाले रारा घोषणापत्र २०७५ जारी गरेको छ ।

भेलाले सरकारी सञ्चार नीति पत्रकार तथा मिडियामैत्री बनाउन माग गरेको छ । भेलाले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा विशेष जोड तथा कर्णालीका साना लगानीका मिडियाको प्रवर्धनको लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयनमा ल्याउन पहल गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य कलेन्द सेजुवालले जानकारी दिए ।

यस्तै कर्णाली प्रदेशका पत्रकार र मिडियाको लागि सरकारले दिने उपकरणमा अनुदान बढाउन र कर छुटको व्यवस्था, पत्रकार महासंघका भवन निर्माणमा आर्थिक सहयोग गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्ने, पत्रकार आचारसंहिता कार्यान्वयनका साथै पत्रकार महासंघका सदस्यता शुद्धीकरणलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरिएको उनले जानकारी दिए ।

रारालगायत कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थलको विकासको लागि ठोस योजना बनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ लाई सफल बनाउन पत्रकार महासंघको कर्णाली प्रदेशका अध्यक्ष भेला मुगुको रारामा आयोजना गरिएको केन्द्रीय सदस्य सेजुवालले बताए ।

भेलामा महासंघका महासचिव रमेश विष्ट, केन्द्रीय सदस्यद्वय पूर्णप्रसाद चौलागाईँ र गोविन्द चौलागाईँ, प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, मुख्य अधिकृत झविन्द्र भुसाल, कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव बुढाथोकी र प्रदेशअन्तर्गत जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो ।