ब्रेकिङ न्युज

विष्णु पौडेलको पक्राउविरुद्ध पत्नी सर्वोच्चमा

१० असार, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको पक्राउ र थुनालाई गैरकानुनी भन्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्।

दोमायाले आफ्नो पति कानुनविपरीत पक्राउ परेर थुनामा राखिएको दाबी गर्दै उनलाई तत्काल रिहा गर्न आदेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गराएकी हुन्।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा सुर्खेत प्रहरीलाई विपक्षी बनाइएको छ। उक्त निवेदनमाथि सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका

पौडेललाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनलाई काठमाडौं ल्याएर मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो।

विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोही आदेशपछि उनी हाल अनुसन्धानको दायरामा रहेका छन्।

यस घटनाले राजनीतिक तथा कानुनी वृत्तमा व्यापक चासो पैदा गरेको छ। अब सर्वोच्च अदालतले पक्राउ र थुनाको वैधानिकताबारे के निर्णय गर्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ।