राजनीति

निर्वाचनमा अन्तर्घात गर्नेलाई कडा कारबाही हुन्छ : सभापति देउवा

हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् ।

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाए ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताए ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए।

नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको हेटौंडाको कार्यक्रममा बोल्ने काँग्रेस केन्द्रीय नेता तथा प्रशिक्षणमा उपस्थित तरुण दलका अध्यक्ष, पूर्ब अध्यक्ष, उपाध्यक्ष, महासचिब, कोषाध्याक्ष लगायत सहभागीका तस्विरहरु । तस्विर / सुर्यखबर