समाचार

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ । लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ ।

आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो । नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि एशिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकाछन् ।
त्यसैगरी आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल निर्वाचित भएको छ । उक्त आयोगमा एशिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्याण्ड र इरान निर्वाचित भएका छन् । उक्त पदका लागि गोप्य मतदान भएको ५४ सदस्यीय राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्मा नेपालले ५२ मत प्राप्त गरेको उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।