२४ जेठ, दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन्।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको जिल्ला अधिवेशन अन्तर्गत सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि मतदान भएको थियो ।
निर्वाचनबाट सभापतिमा किरण खनाल, उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल र सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन् । सभापति पदमा किरण खनालले १९६ मत प्राप्त गर्दै विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी बिनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए । यसैगरी केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गरेका थिए । उपसभापति पदमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी हुँदा सुनिता रावतले ८९ मत प्राप्त गरिन् ।
सचिव पदमा असिम भुसालले २०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए । सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित भइन् । उक्त पदका अन्य उम्मेदवार दिपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए ।
निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा दाङले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।





