समाचार

घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए ।

मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।

उनले दक्ष र अनुभवी कर्मचारीको सहयोगबाट नै मुलुकको आर्थिक समृद्धिको अभियानमा सफल हुने बताए ।

मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको कमीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको बताउँदै दक्ष र अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नभएको स्पष्ट पारे ।

उनले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका एक हजार २५० कर्मचारीले निवृत्तीभरण भइसकेको जानकारी दिए ।