काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको उपचारका लागि काठमाडौँबाट चिकित्सक टोली जुम्ला पठाएको छ ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रा डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै बिहीबार साँझ चिकित्सकलाई त्यसतर्फ पठाएका हुन् । टोलीमा डा जीवन थापा र डा सुवास सुवेदीसहितका चिकित्सक हुन् । टोलीले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर जुम्ला पुग्ने स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डा केसी जुम्लामा १५औँ अनशनमा हुन् । उनको स्वास्थ्यास्था गम्भीर भएपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा डा केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्किन पनि मन्त्री यादवले आग्रह गरेका छन् ।
चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै उनले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए ।
चिकित्सक संघद्वारा आन्दोलन
नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले केसीका जायज मागप्रति ऐक्यबद्धता जनाउँर्दै आजदेखि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिएको बताए ।
संघले प्रा डा केसीको स्वास्थ्यस्थिति बुझी प्रतिवेदन पेश गर्न संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई अनशनस्थल जुम्ला पठाउने निर्णय गरेको छ ।