राजनीति

महासमिति बैंठकको टुंगो नलागेपछि काँग्रेस बैठक शनिबार पुनः बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ ।

पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच आज दिनभरको छलफल र सहमतिपछि बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको हो ।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक भोलिका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए ।

विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उनले जानकारी दिए । “धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ,” नेता बडूले भने ।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गरेको उनले जानकारी दिए ।

गत असार पहिलो साता मकवानपुरको हेटौँडामा सम्पन्न काँग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलामा शीर्षनेताहरुले मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि सहभागिता हुने आश्वासन दिएका थिए ।

मस्यौदा समितिले विधान संशोधनका लागि गर्ने तयारीको समयावधिलाई ध्यान दिएर महासमिति बैठकको मिति तोक्ने र काठमाडौँ वा पोखरामध्ये एक स्थानमा महासमिति बैठक गर्ने सम्बन्ध छलफल भएको बताइएको छ ।

यसअघि गठन गरिएको कार्यसम्पादन समितिका बारेमा विवाद देखिएपछि उक्त समिति विघटन गरिएको थियो । काङ्ग्रेस विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।