राजनीति

ट्रेड युनियन काङ्ग्रेस सङ्घीय संरचनाअनुरुप परिमार्जन गर्ने गृहकार्यमाः अध्यक्ष आचार्य

इटहरी । नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन काङ्ग्रेसले सङ्घीय संरचनाअनुरुप सङ्गठनात्मक ढाँचा र स्वरुप परिमार्जन गर्ने गृहकार्यमा जुटेको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं। १ को पूर्ण बैठकमा उनले श्रमजीवी नेपाली जनताको भावनालाई सरकार र राजनीतिक दलले उच्च कदर गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले श्रमजिवी वर्गको हकहित र अधिकार प्रवर्धनका लागि नेपाल ट्रेड युनियन काङ्ग्रेसलाई सशक्त बनाउनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं. १ का अध्यक्ष नारायणबाबु कार्कीको सभापतित्वमा शुरु भएको सो बैठकमा उपमहासचिव ज्योति कोइराला तथा मजदूर नेता दीपक तामाङ, अमृतलाल जोशी र उर्मिला ढकालले मुलुकको समसमायिक राजनीतिक अवस्था र नेपाल ट्रेड युनियन काङ्ग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।

बैठकले प्रदेशअन्तर्गत शिक्षा विभागको संयोजकमा विनोद अधिकारी, प्रकाशन तथा प्रसारण विभागको संयोजकमा रञ्जना पौडेल, श्रम सम्बन्ध विभागको संयोजकमा सुरेश मण्डल, वैदेशिक रोजगार विभागको संयोजकमा प्रकाश पोख्रेललाई जिम्मेवारी तोकेको निर्णय गरेको छ ।

यसैगरी बैठकले रोजगार प्रवर्धन विभागको संयोजकमा बलराम पोख्रेल, राजनीतिक विभागको संयोजकमा पन्छी वाइवा, श्रमिक कल्याण विभागको संयोजकमा अमृता खरेल वली र सहकारी तथा सीप विकास विभागको संयोजकमा अनिता शिवाकोटीलाई जिम्मेवारी दिएको निर्णय गरेको जनाएको छ ।

एक हप्ताभित्रमा आवश्यकताअनुसार सदस्य थप गर्न सक्ने अधिकारसमेत संयोजकलाई प्र्रत्यायोजन गरेको निर्णय पनि बैठकले गरेको छ ।