अन्तर्राष्ट्रिय

बाढीबाट प्रभावित हजारौँको उद्धार जारी

बागो । म्यान्मारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको छ ।

उनीहरुलाई सो क्षेत्रबाट अन्यत्रै सारिएको र क्षति हुनबाट रोक्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्मी खटाइएको छ । बागो क्षेत्रमा निर्मित उक्त नदीको बाँधलाई नाघेर पानी माथिबाट बगेको छ । बाढी गाउँतर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो । उक्त बाँधका कारण झण्डै एक सय गाउँ नै प्रभावित भएका छन् ।

बुधबार बिहानदेखि आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्र्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म उक्त बाँधभन्दा माथिबाट पानी बग्न थालेपछि कम्तीमा ६३ हजार व्यक्ति प्रभावित भएका छन् ।

तर बाढीका कारण जनधनको क्षतिको खबर अहिलेसम्म आएको छैन भने हजारौँ विस्थापित भएका र अस्थायी शिविरमा राखिएको छ ।

तर पनि दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो । तर यस पटक भने सो स्वार चाउङ बाँध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा छिरेको अधिकारीको भनाइ छ ।

सो बाढीबाट राजधानी याङ्गुनदेखि माण्डलासम्मको राजमार्गको पुल भत्किएको छ । म्यान्मारका दुई ठूला शहरबाट आवतजावत गर्ने सो प्रमुख पुल भत्किएपछि ती शहरको सम्पर्क टुटेको छ ।