शिक्षा

विद्यालयमा सूचना प्रविधिको प्रयोग

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग शुरु गरिएको छ ।

यसको शुरुवात गाउँपालिकाको अगैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट गरिएको छ । सो विद्यालयमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र इम्पेटस नेपाल प्रालिका अध्यक्ष जीवन गुरागाईले सूचना प्रविधिको ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस (एसपिआरए) एकेडेमिक एनलाइसिस रिसोर्स प्रोग्रामिङ’ (इआरपी) बुधवार शुभारम्भ गरे

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सूचना प्रविधिको प्रयोगबाट संघीय सरकार, स्थानीय सरकार, प्रधानाध्यापक, अभिभावक, शिक्षक र विद्यार्थीले विद्यालयको गतिविधि अध्ययन गर्न पाउने छन । प्रविधि अन्तर्गत विद्यार्थीको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापलगायतका बारेमा जानकारी लिन सकिने र त्यसैको आधारमा विद्यालयको शैक्षिक गतिविधिमा सुधार ल्याउन सकिने इम्पेटस नेपालका अध्यक्ष जीवन गुरागाईले जानकारी दिए ।

यो प्रविधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोतहबाट सूचना प्रविधिको प्रयोग भई विद्यार्थीको अध्ययन शैली, शिक्षकको अध्यापनमा लगनशिलता र सिकाइ उपलब्धिमूलक हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष थारूले शिक्षकलाई जिम्मेवार बनाउन सूचना प्रविधिलाई स्वीकार गरिएको बताए । “यो वर्ष कम्तीमा २० विद्यालयमा यो प्रविधि जडान गर्न गाउँपालिकाले रु ४० लाख खर्च गर्न सक्ने व्यवस्था मिलाएको छु”, उनको भनाइ छ ।

सो गाउँपालिकाअन्तर्गत हाल ५४ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती सबै विद्यालयका लागि अझै १३२ शिक्षक अपुग छन् । गाउँपालिकाले कम्तीमा ८४ जना शिक्षक यसै आर्थिक वर्ष नियुक्त गर्न रु दुई करोड खर्च गर्न सक्ने जनाएको छ ।