मनोरञ्जन

चिमखोलालाई चिनाउने थाली नृत्य

म्याग्दी ।
“यो देशको सबै कला संस्कृति सपारौं
यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौं
ए हो ओ…..ओझेलमा नपारौं”
कति राम्रो नेपालको थाली
झिलीमिली नचाउँछु यसपाली….”
म्याग्देली कलाकार लाली बुढाथोकी र मीना गर्बुजाको स्वर रहेको दिलकुमारी रम्जालीको “खुशी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गीतमा जस्तै म्याग्दीको मौलिक थाली नाचले विस्तारै लोकप्रियता कमाउँदै गएको छ ।

रघुगंगा गाउँपालिका ७ चिमखोलाबाट चार दशक अघि यो नृत्यको शुरुआत भएको हो । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य नेपालमा मात्र सीमित नभई सात समुद्रपारि प्रवाससम्म पुगेको छ ।

हातमा थाल राखेर हत्केलाले घुमाइघुमाई नचाएको र नाचेको दृश्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थाली नृत्य मौलिक, आकर्षक र संयमित भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीतको स्वरांकनसमेत गरिएकाले यसको लोकप्रियता अझै बढेको छ ।

देशका विभिन्न ठाउँमा हुने मेला, महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमासमेत थाली नाच देखाउने गरिएको कलाकार विजया थापाले बताए । थापाले भने – “चिमखोलाको पहिचान थाली नाचको संरक्षणमा लागेका छौं । चिमखोलावासी पुगेको ठाउँमा थाली नाच पुगेको छ ।” उनीहरुले अभिभावक र अग्रजबाट थाली नाचको कला सिकेका हुन् ।

विसं २०२८ सालमा चिमखोलाकी हीरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेका थिए । विसं २०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । कलाकार थबिना तिलिजाले आफ्नी आमाबाट थाली नृत्य सिकेको बताए । हातमा थाल राखेर नचाउने भएकाले यसलाई थाली नृत्य नामकरण गरिएको हो ।

पुन र धनकुमारी थापासहितको ४ जनाको टोलीले विसं २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेको थियो । विसं २०३५ मा शान्ति पुन र थापाले थाली नाचसम्बन्धी गीत पनि स्वरांकन गराएका थिए । उक्त गीतको विसं २०७३ मा म्युजिक भिडियो छायांकन गरिएको छ ।

थाली नाच चिमखोलाको मौलिक पहिचान भएको अग्रज लोक कलाकार थापा बताउँछन् । विगत सम्झँदै थापाले भने – “२०४२ सालको नाच राम्रो मानेर २०४४ सालको सार्क सम्मेलनमा बोलाइएको थियो । थाली नाचका कलाकार उत्पादन भएको र गीतसमेत तयार भएकाले यसको प्रचारप्रसारमा सहयोग पुगेको छ । यसबाट हामी धेरै खुशी र उत्साही छौं ।”

पहिले चरेशको थाल नचाउने चलन थियो । पछिल्लो समय दुवै हातमा स्टिलका थाल राखेर नचाउने गरिन्छ । नृत्यको समयमा थाल भुईंमा खसेमा अशुभ हुने मान्यता छ । थाली नृत्यको संरक्षण र प्रवद्र्धनमा चिमखोलाका वृद्धा, महिला र युवतीहरु सक्रिय भई लागेका छन् । हिमालयन आमा समूहले युवतीहरुलाई थाली नाचको प्रशिक्षण कक्षा नै सञ्चालन गर्दै आएको छ । पृथक पहिचान बोकेको थाली नाच अहिले चिमखोलामा मात्रै नभएर जिल्ला, देशका विभिन्न शहर र विदेशमा समेत लोकप्रिय बन्दै गइरहेको छ ।

मगर समुदायको मौलिकता झल्कने थाली नृत्य जो कोहीलाई प्रस्तुत गर्न गा¥हो हुन्छ । पोख्त हुन धेरै प्रयास गर्नुपर्छ । गीतको सुर तालसँगै हातखुट्टा र शरीरको चाल मिलाउनुपर्ने कलाकार यनु पुनले बताए ।

“कतिले हातमा गम लगाएर थाल राखेको भनी शंका गर्छन् तर, त्यस्तो होइन,” कलाकार पुनले भने – “दर्शकलाई विश्वास दिलाउन नाचको बीचमा थाललाई केही समय भुईंमा राख्ने गरेका छौं ।”

शुरुमा कठिन भएपनि अभ्यास गरेपछि गीत र नृत्यमै ध्यान केन्द्रित गर्न सकिएपछि सजिलो हुने कलाकार सञ्जु गर्बुजाले बताए । बसाइँसराइसँगै चिमखोलावासी पुगेको ठाउँमा थाली नृत्यको संस्कृति मौलाएको छ ।

नयाँ पुस्ताले थाली नृत्य संरक्षणमा चासो दिएका छन् । पुरानो र नयाँ पुस्ताबीच संस्कृति हस्तान्तरणका लागि नृत्यको प्रशिक्षण दिने काम भइआएको छ । महिला कलाकारले गून्यु, चोलो र पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । म्याग्दीमा आयोजना हुने हरेक सभा समारोहमा थाली नृत्य देखाउने गरिन्छ ।

जापान, हङकङ, बेलायत, अमेरिकालगायतका देशमा रहेका म्याग्देलीहरुले पनि चाडबाडको समयमा थाली नृत्य हेरेर मनोरञ्जन लिन्छन् । प्रवासका म्याग्देलीले आयोजना गर्ने प्रायःजसो कार्यक्रममा थाली नाच देखाउने गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) का उपाध्यक्ष ओमनारायण जुक्जालीले बताए। जिल्लाको मौलिक संस्कृति संरक्षणमा मोनाले प्राथमिकता दिँदैआएको उनको भनाइ छ ।

थाली नाचकी सर्जक हिरामायाँ

दुबै हातका पञ्जामा थाल राखेर छमछमी नाच देख्दा जो कोही अचम्ममा पर्छन् । अहिले नेपालमा मात्रै होइन विदेशमा समेत निकै लोकप्रिय बनिरहेको थाली नाचको उद्गम थलो म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हो । विसं २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामायाँ पुन श्रीस थाली नाचका सर्जक हुन् ।

बाबु शक्त बहादुर र आमा नन्दिका पुनको ६ भाइ छोरा र २ बहिनी छोरीमध्ये कान्छी छोरीका रुपमा जन्मिएकी उहाँले खाना खाएको भाँडा माझेर धारोदेखि घरभित्र जाँदा हातमा थाल घुमाउने गर्दै गर्दा त्यसलाई नाचमा रुपान्तरण गरेका थिए । पहिले गाउँमा पुरुषहरुले देशी नाच देखाउँदा हातमा थाल राखेर घुमाउने गरेको देखेपछि त्यसको सिको गर्दै आफू नाचकै रुपमा स्थापित गर्न सफल भएको उनको भनाइ छ ।

हाल बागलुङमा बसोबास गर्दै आउनुभएकी थाली नाचकी सर्जक हीरामायाँले थाली नाचको बढ्दो लोकप्रियताले आफू खुशी भएको बताए। उनले भने – “मैले त्यतिबेला थाली नाच देखाउँदा धेरै आरोपहरु खेप्न प¥यो । दुई हातमा चरेशका थाल नचाउँदा मलाई बोक्सी र टुनामुना गर्ने मान्छेसम्म भने कतिपयले । अहिले यो नाच देश विदेशमा महत्वका साथ देखाएको पाउँदा धेरै सन्तुष्टि मिल्छ ।”