राजनीति

महिलाका लागि संबिधानले दिएका अधिकार लागू हुनुपर्छ : प्रकाशमान सिंह

पोखरा । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले महिलाका लागि संविधानले दिएका अधिकार पार्टीमा पनि सुनिश्चित गरिनुपर्ने बताएका छन् ।

नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ द्वारा शुक्रबार यहाँ आयोजित खुला तीज गीत प्रतियोगिता एवं दरखाने कार्यक्रमको शुभारम्भ गर्दै उनले आसन्न महासमितिको बैठकमा हुने विधान संशोधनमा संविधानअनुसार आफ्ना हकअधिकारलाई सुनिश्चित गराउन महिला सङ्घ लाग्नुपर्ने बताए ।

संविधान निर्माणमा काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले यसको कार्यान्वयनमा पनि सक्रियता देखाउने उल्लेख गरे ।

नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ की सभापति इन्द्रमाया बानियाँले महिला सशक्तीकरणका साथै नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सङ्घको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे।

प्रतियोगिता संयोजक निर्मला भण्डारीका अनुसार प्रतियोगितामा १५ वटा टिम सहभागी थिए । जसमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित पुरस्कृत गरिएको थियो ।