पर्यटन/संस्कृति

संस्कृति जोगाउन समर्पित छन् गुरु लक्ष्मीप्रसाद

भक्तपुर ।
ताकतिङ धँ, ताकतिङ धँ धँ
ताकतिङ धँ, ताकतिङ धँ धँ
ताकतिङ धिंङ, ताकधिंता कति
ताक दिता कता, ख ड्रख धँ धँ तिङ धेलेङ
नेवारी परम्परागत बाजा ‘पछिमा’ को यो ताल सुनेर मोहित नहुने शायद कोही होलान् तर, पछिल्लो समय परम्परागत बाजाको संरक्षणमा युवा पुस्ताको उदासीनताले यस्ता कर्णप्रिय ताल र धूनहरु लोप हुने अवस्थामा पुगेका छन् । यी धरोहरको संरक्षणमा पहिलो पुस्ताका केही गुरुहरु भने अझै तल्लीन भएर लागिरहेका छन् । यस्तै मध्येका एक हुन् – ५३ वर्षीय गुरु लक्ष्मीप्रसाद मानन्धर ।
वाद्यवादन मात्र नभएर देवी नाचको गुरुको रुपमा समेत उनले देशभित्र र बाहिर ख्याति कमाएका छन् । अहिले उनी नयाँ पुस्तालाई वाद्यवादन र देवी नाच सिकाउने कार्यमा तल्लीन छन् ।
बुबा रत्नबहादुर मानन्धर र आमा रत्नमायाँका सातमा चौथौं सन्तानका रुपमा भक्तपुर नगरपालिका–३ तेखाचोमा २०२२ सालमा लक्ष्मीप्रसादको जन्म भएको हो । मानन्धरहरुको पुख्र्यौली पेशा तेलको कोल चलाउने हो तर, उनको परिवार खेती किसानी गर्थे । त्यसैले उनले पनि सानै उमेरदेखि खेतबारीमै आफ्ना नङ्ग्रा खियाए ।
उत्साही स्वभावका उनले १४ वर्षकै उमेरदेखि वाद्यवादन सिक्न शुरु गरे । त्यतिखेर टोल टोलमा देवीदेवताका नाच, ख्याःली प्याखँ, राजकुमारका डबली नाटक मञ्चन गरिन्थ्यो र मनोरञ्जनका साधन यिनै हुन्थे । प्रत्येक वर्ष टोलटोलमा परम्परागत वाद्यवादन र नाचहरु सिकाएर नयाँ पुस्ता तयार पारिन्थ्यो । वाद्यवादन सिक्न थालेको एक वर्ष नपुग्दै बुबाको मृत्यु भएपछि उनको यात्रा पनि रोकियो ।

खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नहुँदा उनले विद्यालयमा पाइला समेत टेक्न पाएनन् । “पढ्ने रहर धेरै थियो तर, आर्थिक अवस्था कमजोर हुँदा विद्यालय जाने वातावरण नै बनेन,” उनले भने । तीन दाजुभाइमा उनी जेठो हुन् । सानैदेखि बुबा सँगसँगै खेतीपातीको काममा लाग्नुपर्दा उनलाई विद्यालय जाने अवसर जुरेन । उनले भने – “त्यो बेला दुई/चार रोपनी जग्गामा उत्पादन हुने अन्न खानलाई पुग्दैनथ्यो । आम्दानीको बाटो अरु थिएन । त्यस माथि ठूलो छोरा । कसरी विद्यालय जानु ?” आफूले विद्यालय जाने अवसर नपाए पनि भाइबहिनीलाई भने उनले पढ्न दिए ।

मानन्धर समुदायले वर्षेनी मनाउने गुँला पर्व र गुँला धलँलाई ब्यूँताउन उनले वाद्यवादन सिक्न शुरु गरेका थिए । बुबाको मृत्युसँगै उनको सपना अधुरो रहन पुग्यो । घर खर्च चलाउन लक्ष्मीप्रसादले दैनिक ५० पैसा ज्यालामा सिकर्मीको काम शुरु गरे । डेढ वर्षसम्म यसैमा लागे । सिकर्मीको ज्यालाले गुजारा चलाउन सकस भएपछि टोलकै चिउरा मिलमा काम गर्न थाले । एक ड्रम चिउरा कुटेकोे ज्याला बापत दुई रुपैयाँ पचास पैसा आउँथ्यो । घर व्यवहार र भाइबहिनीको पढाइ धान्न खर्च नपुगेर पुख्यौली सम्पत्तिसमेत बेच्नुपर्ने बाध्यता उनलाई आइलागेको रहेछ । आर्थिक संकटबाट पार पाउन उनले चिया पसल थापे र यसको केही समयपछि उनी विवाह बन्धनमा बाँधिए । त्यसको एकवर्ष पछि वाद्यवादन सिक्ने कामलाई उनले निरन्तरता दिए ।

पहिला सँगै वाद्यवादन सिकेका ६ जना साथीलाई लिएर उनले गुरु सूर्य शंकर मानन्धरकहाँ पुगे र पुनः प्रशिक्षण लिन थाले । निरन्तरको मेहनत र लगावबाट हारमोनियम, तबलासँगै नौबाजा बजाउन समेत उनी निपुण भए ।
उनले भने – “घरमा आमाले तिमी घरको ठूलो छोरा, सबैको जिम्मा तिमीमै छ भन्ने बोध गराए। जे जति गरे पनि घरको आर्थिक अवस्थामा भने सुधार आउन सकेको थिएन । यस्तो अवस्थामा २०४० सालमा घर सल्लाहमै सानो पुँजी लगानी गरेर घरमै चिया पसल खोलें र आम्दानीको नयाँ बाटो रोजें ।
चिया पसल चल्न थालेपछि भने उनलाई परिवार धान्न केही सजिलो भयो र र बसुन्धरा मानन्धरसँग मागी विवाह गरे।
उनी सम्झन्छन् – “बाजा त सिक्ने तर कसरी ? आफूसँग पैसा छैन । पढ्न लेख्न आउँदैन । बाजा सिक्न बोका, कुखुरा बली दिनुपर्छ । किन्न पैसा छैन ।”
पैसा नभए पनि पैसाको सट्टामा चालम तिरी तिरी उनले वाद्यवादन सिके । “साथीहरु सबैले पैसा तिर्ने, मैले चाहीँ चामल तिर्ने, त्यसरी मैले बाजा सिकें,” बाजा सिक्दाका कष्टपूर्ण दिन सम्झँदै उनले भने – “बाजा बजाउन बोल भन्न सक्नुपर्ने, बोलअनुसार बाजा बजाउनुपर्ने, लय कण्ठ हुनुपर्ने अनि, मात्र हात बसाल्ने हो ।”
बाजा सिक्न लेखपढ पनि चाहिने भएपछि उनले ठूलो वर्णमाला किनेर ल्याए र पसलमा बसी बसी लेखपढ गर्न थाले । लाजै नमानी पसलमा आउने ग्राहकसँग सोधी सोधी आफूले सामान्य लेखपढ गर्न सिकेको उनी निर्धक्क भएर बताउँछन् । नौ बाजा सिक्न उनलाई ६ महिना लाग्यो । त्यसपछि उनले मानन्धर समुदायमा २००४ सालदेखि रोकिएको गुलाँ धलँ पुनः सञ्चालन गरे । त्यसलाई ३ वर्षसम्म निरन्तरता दिनुभएका लक्ष्मीप्रसाद आफ्नो समुदायको संस्कृति जोगाउन केही योगदान गर्न सकेकामा गर्व महसुश गर्छन ।

नौ बाजा सिकेपछि लक्ष्मीप्रसादलाई भक्तपुरका विभिन्न साँस्कृतिक अवसरमा देखाइने देवी नाचमा बाजा बजाउने अवसर जु¥यो । अहिले देवी नाचको बाजा नाइकेको रुपमा उनको पहिचान बनेको छ ।
नौ बाजा बाहेक हार्मोनियम, तबला, भोइलेन्ट, बाँसुरी, धिमे, खिं, दाफाभजनमा समेत उनी दखल राखे । पढाइ तथा भाषाको ज्ञानको अभावले पटक पटक विदेश जाने अवसर समेत वञ्चित हुनुपरेको तीतो अनुभव उनी सुनान्छन् ।

उनले भने, “बढी लाज मान्ने र पढ्न लेख्न नजान्ने भएकाले पटक पटक आफूलाई आएको विदेश भ्रमणको अवसर समेत गुम्यो । आफूले बजाएको बाजाको ताल रेकर्ड गरी विदेश लिएर जाने तर बोलाउने बेला मलाई थाहै नदिई अर्कै गइदिने ! बाजाको ताल मेरो, अवसर अरुले नै पाउने !”
उपत्यकाका विभिन्न तारे होटलहरुमा हुने साँस्कृतिक कार्यक्रममा थुप्रै पटक पुरस्कृत भइसकेका गुरु लक्ष्मीप्रसादले नेपालका विभिन्न जिल्लालगायत जापान र फ्रान्स गएर देवी नाच प्रर्दशनको अनुभव संगालेका छन् । यो वर्ष उनले भक्तपुर दरबार क्षेत्रको बहटोलमा २१ जनाको समूहलाई देवी नाच सिकाइरहेका छन् । यस अतिरिक्त तेखाचो टोलमै ८ जनालाई धाँ, ८ जनालाई पस्ट, ४ जनालाई नगरा, कों खीँ र पछिमा सिकाउँदैं आउएका छन् ।