पर्यटन/संस्कृति

पञ्चदानः बोधिसत्व पाउने एक उपाय

काठमाडौँ । देशभरी छरिएर रहेका नेवार समुदायले आज पञ्जराँ (पञ्चदान) पर्व बिहानैदेखि घरघरमा गौतम बुद्धको मूर्ति वा तस्वीरमा पूजा गरी मनाएका छन् ।
हरेक वर्ष गुँलागा त्रयोदशीमा मनाइने पञ्चदानका अवसरमा आफ्नो घरमा भिक्षाटनका लागि आएका वज्राचार्य गुरुलाई बुद्धका रुपमा मानी दान प्रदान गर्ने चलन छ । यस वर्ष पञ्चदान नेपाल संवत् ११३८ गुंलागा त्रयोदशीका दिन परेको छ ।

बिहानै घरमा चोखो बनी खीर, मालपुवा आदि मिठाइ पकाई गौतम बुद्धलाई भोजन गराएपछि घरका अन्य परिवारले खीर भोजन गर्छन् । आजको दिन माछामासु खान नहुने जनविश्वास छ । भिक्षाटनका लागि घरमा आउने बज्राचार्य गुरुहरुलाई चामल, केराउ, चिउरा, पैसा, मास, मकै आदि दान गरिन्छ ।
पञ्चदानका अवसरमा नेपाल परम्परागत बौद्धधर्म सङ्घ सामूहिक पञ्चदान कार्यक्रम मूल समारोह समिति २०७५ ले सामूहिक रुपमा गुरु बज्राचार्य, गुरुमा र शाक्यभिक्षुहरुलाई पञ्चदान ग¥यो ।

बिहान ८ बजे काठमाडौँको विक्रमशील महाविहारवाट शुरु भएको पञ्चदान झवाबहा, ध्वाखाबहा, गँबहा, नघः बहा, न्हुबहा, दर्गु बहा र असं तक्षबहामा भिक्षाटन गरिएको थियो । भिक्षाटनका लागि बज्राचार्य, शाक्य गुरु र गुरुमा तथा दानप्रदान गर्ने दाताको ठाउँठाउँमा भीड लागेको थियो । यो क्रम बेलुका ६ः३० बजेसम्म जारी रह्यो ।

सोक्रममा आज दिनभरी ४५ विहार,बहा, बही तथा ननी, चुक र टोलमा भिक्षाटन गरियो । भिक्षाटनका क्रममा विभिन्न विहारमा भएको कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी बौद्धविश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले बौद्धधर्ममा पञ्चदान गरी दानप्रदान गर्नु निकै महत्वपूर्ण रहेको बताउँदै पञ्चदानबाट उठेको रकम लुम्बिनीमा निर्माण हुने बज्रयान बौद्धविहार र वैरोचन विहार पुनःनिर्माणमा खर्च हुने जानकारी दिए । पञ्चदानका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा आदि जिल्लाबाट आएका बज्राचार्य तथा शाक्य गुरुहरुको सहभागिता थियो ।
चारुमतीमा दानगाथा वाचन

चाबहिलस्थित चारुमती विहारमा आज गरिएको पञ्चदानमा विभिन्न वस्तुदान गर्दा धर्म तथा पुण्यको महिमा वर्णन गरिएको दानगाथा श्लोक भिक्षुले वाचन गरेका थिए । दान लिनेले दानगाथा वाचन गरिरहने र दान ग्रहण गरिसकेपछि दान दिनेलाई यश, ज्ञान, सन्तान, सुख र आयु वृद्धिको कामना गर्ने प्रचलन रहेको विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए ।

भाद्रकृष्ण तृतीयाका दिन थेरवादी बौद्ध धर्मावलम्बीले सांस्कृतिक उत्सवका रुपमा आज पञ्चदान पर्व मनाएका हुन् । यस पर्वमा अनुयायीले विशेषतः भिक्षु तथा गृहस्थलाई अन्न तथा फलफूल गरेर पाँच प्रकारका खानेकुरा पञ्जाले दान गर्ने प्रचलन छ । धान, गहुँ, केराउ, द्रव्य र फलफूल दान गरिन्छ । थेरवादी बौद्ध परम्परामा दानलाई महत्व दिइएको छ । विभिन्न विहार तथा घर घरमा पनि दान दिन सकिन्छ ।
सामान्य मानिसमा पनि बुद्धत्वको गुण हुने र त्यसलाई उपयोग गरेमा बोधिसत्व प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका साथ धर्मावलम्बीले पवित्र भई निःस्वार्थ मनले लोभलालचबाट माथि उठ्नका लागि बौद्ध साहित्यमा सन्देश दिइएको छ । बोधिसत्व प्राप्त गर्नका लागि दशपारमिताको आवश्यकता पर्छ । त्यसमध्ये दान पारमिता पनि एक मानिएको छ ।

पञ्चदानको परम्परा दीपङ्कर बुद्धको पालादेखि चल्दै आएको धर्मावलम्बीको विश्वास छ। प्राचीन समयमा बौद्ध भिक्षुले जीवन निर्वाह गर्नका लागि पिण्डपात्रमा भिक्षा लिएर समाजमा उपदेश दिने तथा धार्मिक गतिविधि गर्थे । प्राविधिक कारणले केही भिक्षु गृहस्थ जीवनमा प्रवेश गरिसकेपछि वर्षमा एक पटक पञ्चदानका दिनमा भिक्षा दिने र लिने परम्परालाई निरन्तरता दिएको पाइन्छ ।