राजनीति

पत्रकार बस्नेतलाई बिना शर्त रिहा गर्न काँग्रेसले ओली सरकारलाई दियो चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले साभार गरेको समाचार सामग्रीका आधारमा पक्राउ गरिएको भनिएका पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने/गराउने निश्चित विधि–प्रक्रिया लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

“बदलिएको परिस्थितिमा पनि पत्रकारले निरन्तर पीडा भोग्नु परेको चित्र दुःखद त छ नै अत्यन्तै गम्भीर पनि छ”, विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसले जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रक्रिया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढङ्गले स्वतन्त्र प्रेसको अक्षुण्णता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिलसमेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ । तर केही समय यता राज्यसंयन्त्रनै मीडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन “अधिनायकवाद उन्मुख” प्रवृत्तिको श्रृंखलालाइ पुष्टि गर्दै गएको छ । पत्रकार राजु वस्नेत माथिको आपत्तिजनक व्यवहारलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।
हामी राज्यको सार्वजनिक जवाफ चाहन्छौं – संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातामा हतकडी हो ? द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरु प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जिवित छ । तर बदलिएको परिस्थितिमा पनि पत्रकारहरुले निरन्तर पीडा भोग्नु परेको चित्र दुखद त छ नै अत्यन्तै गम्भिर पनि छ ।

नेपाली कांग्रेस पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न सरकारसंग माग गर्दै प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सचेत गराउन चाहन्छ । साथै, जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिल गर्दछौं ।’
नेपाली काँग्रेसले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुमाउरो भाषामा पत्रका बस्नेतलाई रिहा गर्न चेतावनी दिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको विज्ञप्तीले देखाएको छ ।