राजनीति

कम्युनिस्ट सरकारबाटमात्र रुपान्तरण सम्भव छः अध्यक्ष दहाल

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताएका छन् ।

नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन कार्यक्रममा उनले देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध छ भने ।

विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे युद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उनको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उनले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राखे ।

अध्यक्ष दाहालले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताए ।

गत भदौ ९ गतेदेखि शुरु भएको मदन भण्डारी एशियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याजको अध्ययन आजबाट पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष दाहालले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गरे । अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो ।