खेलकुद

तेस्रोपटक सर्दै आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।

प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको थियो । तर अब प्रतियोगिता माघमा पनि नहुने राष्ट्रिय खेककूद परिषद्का एक उच्च अधिकारीले बताए ।

“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पुनःसार्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो”, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले भने ।

प्रतियोगिताको उद्घाटन गर्ने भनिएको नेपालगञ्ज रङ्गशालाको काम निर्धारित समयमा पूरा हुने नदेखिएपछि प्रतियोगिता फागुनको दोस्रो साता सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिताको नयाँ मिति केही दिनपछि तोकिने उपाध्यक्ष तिम्सिनाले बताए ।

गत असोजमा राखेप सञ्चालक समिति बैठकले अन्तिम समयमा आएर बजेट अभाव र पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता माघको अन्तिम साता सारिएको थियो । तर मुख्य खेल मैदान नेपालगञ्ज रङ्गशाला निर्धारित समयमा निर्माण पुरा नहुने भएपछि प्रतियोगितालाई पुनः दुई हप्ता सार्ने तयारी भएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।