काठमाडौं । दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले महेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नवगठित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा उदविर नेपाली, उपाध्यक्षमा गणेश नेपाली, दीपा परियार र लिलम विक, महासचिवमा शेरबहादुर बाग्चन्द, सचिवमा सुजन कुमारी बर्देवा, रमेशकुमार चर्माकार, झविन्द्र विश्वकर्मा र केबलकुमार नेपाली, कोषाध्यक्षमा जयबहादुर बिक र सहकोषाध्यक्षमा अशोककुमार राम रहेका छन्। समितिमा प्रदेश संयोजक, काठमाडौं उपत्यका, खुला सदस्य, महिला सदस्य, मधेशी दलित तथा अनुशासन कमिटी सदस्य पनि निर्वाचित गरिएको छ ।
सरकारी सेवामा रहेका दलित समुदायका कर्मचारीबीच आपसी हित, सम्बन्ध र सहयोगका लागि उक्त समाज स्थापना गरिएको अध्यक्ष महेन्द्र विश्वकर्माले बताए। उनले भने, “समाजले सदस्य कर्मचारीका छोराछोरीलाई शैक्षिक सम्मान र पुरस्कार वितरण गर्दछ, दलित कर्मचारीका अधिकारका पक्षमा वकालत र बहस चलाउँछ तथा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दछ ।”
सम्मेलन उदघाटनका अवसरमा मन्त्री सुनारले नेपालका दलित समुदाय सदियौँदेखि उत्पीडनमा रहेकाले उनीहरूको उत्थानका लागि समाजका सबै वर्गको समान दायित्व रहेको बताए ।