बाग्मती

नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ ।

नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो ।

नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिए ।

“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ”, उनले भने । क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको उनको भनाइ छ ।

विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढेपनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविश्य सुनिश्चित नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताए । विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसङ्घका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।