जेनेभा, स्वीट्जरल्याण्ड । विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताका कारण सन् २०१९ मा विश्वव्यापी व्यापार वृद्धि दरमा कमी आउने विश्व व्यापार संगठन ‘डब्लुटिओ’ले मङ्गलबार जनाएको छ । डब्लुटिआले यस बर्षका लागि उसको प्रारम्भिक अनुमान सार्वननिक गर्दै उक्त कुरा बताएको हो । यस पहिले गरेको प्रतिवेदनमा यस बर्ष विश्वव्यापी व्यापारमा ३।७ प्रतिशतको वृद्धि हुने प्रक्षेपण डब्लुटिओले गरेको थियो । तर यो अनुमानलाई मङ्गलबारको रिपोर्टमा सच्चाइएको र यस बर्ष मात्र २।६ प्रतिशतको व्यापार वृद्धि रहने जनाएको छ । सन् २०१८ मा रहेको तीन प्रतिशतको वृद्धिमा गिरावट आई विश्वव्यापी व्यापारको अवस्था थप खुम्चिने जनाइएको हो ।
“हामीले व्यापार क्षेत्रको शुभ समाचार पाउन नसक्नुको वास्तविकताले विगत एक बर्षमा पत्रपत्रिका नपढेका व्यक्तिलाई पक्कै चकित तुल्याउने छ ,” डब्लुटिओका महानिर्देशक रोबेर्टो अजेभेदोले पत्रकारहरूसँगको कुराकानीमा बताए । डब्लुटिओका १६४ सदस्य राष्ट्रहरूले उनीहरूको चासो व्यक्त गरेका छन् । प्रणालीगत चुनौति जसले विश्वको अर्थतन्त्र वृद्धिलाई अवरूद्ध गर्छ, त्यो विशेष गरी चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रतिशोधपूर्ण कर नीति हो, डब्लुटिओको प्रमुख बार्षिक प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।
वासिङ्टन र बेइजिङबीच जारी वार्ताले व्यापारमा कर युद्धलाई समाधान गर्ने सङ्केतहरू देखिएका त छन् तर सम्भावित सम्झौताको समयसीमा अझै स्पष्ट भैसकेको छैन । के विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार विवादकाट कुनै पक्षको जित भएको देख्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हजेभेदोले भने, “यहाँ धेरै पराजित हुनेछन् ।”
उनले थपे, “त्यसैले पनि तनावलाई छिट्टै समाधान गर्न ‘अति जरूरी’ भएको छ ।” मङ्गलबार सार्वजनिक गरेको प्रक्षेपण ब्रेक्जिटका कारण आगामी दुई बर्ष व्यापारमा पर्ने प्रभावलाई आधार बनाई गरिएको हो,” डब्लुटिओका अर्थशास्त्री कोलम्यान नीले पत्रकारलाई बताए। बेलायतले यूरोपेली सङ्घबाट बहिर्गमन सम्झौता नगरी छोड्ने, वा ब्रेक्जिटका कारण सिर्जना भएका सम्भावित परिणामले विश्वव्यापी व्यापार वृद्धिदरलाई नकारात्म प्रभाव पार्ने नीको तर्क थियो ।
उनले थपे, “अवस्था एकदम तरल छ । अन्तिम नतिजा के आउँछ वा ब्रेक्जिटको विश्व व्यापारमा पर्ने असर देख्नु वा बुझ्नु पहिले हामीले पर्खने र हेर्नेबाहेक अहिले अर्को उपाय छैन ।”