ब्रेकिङ न्युज

नेपालमा रेमिट्यान्स बढेर २ खर्ब ५७ अर्ब पुग्यो

२६ जेठ, काठमाडौं । नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै हालसम्मकै सबैभन्दा धेरै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार यो मासिक आधारमा हालसम्मकै उच्च रेमिट्यान्स हो। गत चैतमा २ खर्ब ९ अर्ब रुपैयाँ भित्रिएको रेमिट्यान्सलाई समेत पछाडि पार्दै वैशाखमा उल्लेख्य वृद्धि देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल रेमिट्यान्स १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढी हो।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजारभन्दा बढी पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेहरूको संख्या पनि लाखौंमा रहेको छ।

विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा जाने क्रम र विप्रेषण आप्रवाह बढ्दै जाँदा देशको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको देखिन्छ।