बाग्मती

फोहर व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण

भादगाउँ । भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलले सोमबार भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाएको छ । भक्तपुर नगरको फोहरको छुट्टै व्यवस्थापन गर्ने उद्देश्यले सात महीनाअघि गठन गरिएको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको हो ।

कार्यदलका संयोजक अमितशङ्कर रञ्जितले नगरप्रमुख प्रजापतिलाई प्रतिवेदन बुझाएका हुुन् । प्रतिवेदनमा नगरका विभिन्न क्षेत्रबाट निस्किने कुहिने, नकुहिने र स्वास्थ्य क्षेत्रबाट निस्किने जोखिमयुक्त फोहर कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा विस्तृत योजनासहित रहेको संयोजक रञ्जितले बताए । कार्यदलले फोहरलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्नसमेत सुझाव दिएको छ ।

सो अवसरमा नगर प्रमुख प्रजापतिले फोहर व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन सोचको आवश्यकता भएको र भक्तपुरको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको अध्ययन गर्न ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेजको वातावरण विज्ञान विज्ञसहितको संयुक्त कार्यदल सात महीनाअघि गठन गरेको बताए।

उनले भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ख्वप अस्पतालको फोहर व्यवस्थापन गर्न अहिलेदेखि नै अध्ययन अनुसन्धानलाई जोड दिएको प्रष्ट पार्दै फोहरलाई प्राङ्गारिक मल बनाउने मौलिक शैलीको प्रविधिबारे पनि अध्ययन अनुसन्धानमा पनि ध्यान दिनु आवश्यक भएको बताए। उनले भक्तपुर नगरपालिकाले सरसफाइमा नयाँ प्रविधि अपनाउँदै त्यसको उचित व्यवस्थापन गर्दै जाने योजना रहेको जानकारी दिए ।

नपाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले नगरको सरसफाइलाई ध्यानमा राखेर पाक्षिक सरसफाइको अभियान शुरु गरेको बताउँदै घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्ने उद्देश्यले नगरवासीलाई बाल्टिन तथा कम्पोष्ट बिन वितरण गरेको बताए । उनले भक्तपुरवासीको मुख्य पेशा कृषि भएकाले कुहिने फोहरलाई पुनःप्रयोगमा ध्यान दिनुपर्ने र फोहरलाई सहीरूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यदलमा पुन भैल, सुशीला ग्वाछा र नलेज इन्टिग्रेसन सर्भिसका डा. ज्योतिलगायत सदस्य थिए ।