राजनीति

हामी बाँच्दाबाँच्दै यो देशमा ठूलो आर्थिक क्रान्ति आउँछः अध्यक्ष दहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिएर जनता भड्काउने छुट कसैलाई नभएको बताएका छन् । उनले ठूलो त्याग र बलिदानपछि आएको राजनीतिक परिवर्तन र त्यसका उपलब्धिलाई संस्थागत गरी देशलाई समृद्ध बनाउनुको अर्को विकल्प नभएकाले विकास निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

आज राजधानीमा आयोजित गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, “जनताले बनाएको संविधान, जनताले ल्याएको परिवर्तन, जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिई त्यसबाट जनतालाई भड्काउने कुनै ठाउँ छैन, सबै केन्द्रित भएर समृद्धि र विकास निर्माणमा अगाडि बढौँँ ।”

राजनीतिक क्रान्ति समाप्त भएर आर्थिक क्रान्तिको यूग शुरु भएको बताउँदै अध्यक्ष दाहालले नेपालको विविधताबारे विश्वभरि जति राम्रो प्रचार गर्न सक्यो त्यति नै गुणात्मकता आउने र त्यसको प्रचुर सम्भावना रहेकोसमेत उल्लेख गरे । “विकासको निम्ति राजनीतिक नेतृत्वको तहबाट आउँदो १०,२० वर्षमा एउटा क्रान्ति गर्ने सङ्कल्पमा छौंँ, तपाईहरुको सहयोग मिलिरह्यो भने हामी बाँच्दाबाँच्दै यो देशमा ठूलो आर्थिक क्रान्ति आउँछ, हामी सबै मिलौँ”, उनले भने ।

सबैभन्दा अग्लो हिमालमात्रै नभई संसार कै महान् दार्शनिक गौतमबुद्ध, पौराणिक समयमा भारत र श्रीलङ्कासम्म संस्कृति तथा सभ्यताको सन्देश दिने जानकी, तिब्बत र चीनमा नयाँ संस्कृति र दर्शन फैलाउने भृकुटी नेपालमै जन्मेको स्मरण गर्दै उनले पुर्खाको त्यागले नेपालको शिरमाथि उठेको जिकिर गरे । उनले मुलुकमा आधुनिक राजनीतिक लोकतन्त्रको नयाँ अभ्यासको थालनी भएको उल्लेख गर्दै बलियो सरकार बनेर एउटा राजनीतिक वातावरण निर्माण भएकाले अबको बाटो विकास र समृद्धि नै भएको बताए ।

अध्यक्ष दाहालले नेपालाई प्रकृतिले प्रचुर साधन स्रोत प्रदान गरेको, बहुआयामिक विविधता दिएको र विविधतामा पनि सानदार एकताको संस्कृति रहेकाले यसलाई सदुपयोग गरेर विकासको गति बढाउनुपर्ने आश्यकता औँल्याए । हिमालका जडीबुटी, नदीनाला, सुन्दरता, ऐतिहासिक र धार्मिक स्थान संसारभरिका मानिसका निम्ति आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने अध्यक्ष दाहालको धारणा थियो ।

बुद्ध जन्मेको देश हुनुको नाताले पनि संसारभरिका जुनसुकै धर्म सम्प्रदायका मानिसको आकाङ्क्षा एक चोटी लुम्बिनी आई शान्तिको सन्देश लिएर जाने रहेको उनको भनाइ छ । जुन हिसाबले सम्पदालाई सदुपयोग गर्नुपर्ने हो विगतमा हुन नसके पनि अहिले आएको ऐतिहासिक अवसरलाई गुम्न दिन नहुनेमा उनको जोड थियो ।

मिङ्मा शेर्पा ‘टुरिजम म्यान अफ दि इयर’

गन्तव्य नेपाल समूहले ‘टुरिजम म्यान अफ दि इयर’बाट पर्वतारोहण क्षेत्रमा काम गर्दै आउनुभएका मिङ्मा शेर्पालाई आज सम्मान गरेको छ । शेर्पा आरोहण क्षेत्रमा सबैभन्दा बढी राजश्व तिर्ने व्यवसायीसमेत हुन् । कार्यक्रममा उनलाई नेकपाका अध्यक्ष दाहालले उक्त अवार्डबाट सम्मान गरेका थिए ।

यस्तै सोसल सर्भिस लाइफ टाईम अवार्डबाट हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष जगतबहादुर गुरुङ, योग टुरिजम अवार्डबाट योगाचार्य सुवोध सिंखडा, एक्सलेन्स प्रोडक्सन अवार्डबाट रामकुमार अधिकारी, टुरिजम पर्सनालिटी अवार्डबाट युवराज श्रेष्ठलाई सम्मान गरिएको छ ।

टुरिजम अवार्डबाट दुर्गादत्त ढकाल, पेम्बा शेर्पा, आशुतोष प्रधान, सजना अधिकारी, पेम्बा लामा र अर्गानिक एग्रो टुरिजम अवार्डबाट नवराज श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार शिव देवकोटा, कृष्ण सुवेदी, रविन थपलिया र भीमप्रसाद सापकोटालाई समेत सम्मान गरिएको थियो ।

आयोजक गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले सन् २०१० बाट अवार्ड वितरण शुरु गरिएको जानकारी दिँदै पर्यटन विकासमा सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए ।