समाचार

लोकसेवाको परिक्षा आजः विभिन्न स्थानमा आन्दोलनः खोटाङमा प्रश्नपत्र च्यात्ने ४ पक्राउ

काठमाडौं । चौतर्फि विरोधका वावजुत आज लोकसेवा आयोगको परिक्षा सुरु भएको छ । स्थानी तहले निकालेको विज्ञापनमा विभिन्न कमी कमजोरी रहेको भन्दै हरेक निकायबाट बिरोध भैरहेको छ । यसैक्रमा परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले आज खोटाङमा प्रश्नपत्र च्यातेका छन् ।

साथै प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सञ्चालन गरेको छ । लोकसेवा आयोगले आज ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरेको छ । यसक्रममा खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यातेका थिए ।

प्रश्नपत्र च्यातेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताएका छन । पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबीमगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए ।

आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा वीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो । यस्तै स्थानीय तहमा प्रशासन समूहतर्फ र लेखा समूहतर्फ अधिकृत र सहायक पदका लागि खोटाङबाट २१४ जनाको दरबन्दस्का लागि परीक्षा भइरहेको छ भने धनकुटामा ४९१ र इलाममा २३० गरी ९३५ जनाका लागि आज परीक्षा भइरहेको छ । परीक्षामा ठूलो संख्यामा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ ।

लोकसेवाले देशभरिका स्थानीय तहबाट कुल ९ हजार १६१ पदका लागि विज्ञापन खोलेको छ । लोकसेवाको परीक्षालाई प्रभावित पार्ने उद्देश्यले आरक्षण बचाऊ आन्दोलनले आज प्रदेश १ बन्दको घोषणासमेत गरेको छ । बन्दका बावजुद लोकसेवाले तीनवटै केन्द्रमा परीक्षा सञ्चालन गरिरहेको छ । लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातिको अगुवाइमा आन्दोलन हुँदै आइरहेको छ ।

उता आदिवासी जनजातिको अगुवाइमा शुरु भएको आरक्षण बचाऔं आन्दोलन प्रदेश ५ मा प्रभावहीन देखिएको छ । लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन असमावेशी र आरक्षणविरोधी भएको भन्दै आरक्षण बचाऔं आन्दोलन शुरु भएको थियो ।

आयोगको साउन ४ गते (आज) को परीक्षा असफल पार्नेरबिथोल्ने उद्देश्यसहित आन्दोलन घोषणा गरे पनि आन्दोलनकारीहरु परीक्षा केन्द्रहरुमा पुग्नै सकेनन् । बुटवलका ३४ वटा परीक्षा केन्द्रमध्ये कुनै पनि केन्द्रमा आन्दोलनकारीहरु बिहान ७ बजे पुग्न सकेनन् । परीक्षा केन्द्रमा ७ बजेदेखि परीक्षार्थीहरु प्रवेश गर्ने र ८ बजेदेखि परीक्षा शुरु गर्ने कार्यतालिका थियो ।

३४ केन्द्र मध्ये बुटवल–७ को सिद्धेश्वर लालकुमारी माविमा मात्रै आरक्षण बचाऔं आन्दोलन पक्षधर न्यून संख्यामा उपस्थित भए, त्यो पनि परीक्षा शुरु भएपछि । एक घण्टाको अवधिसम्म मुस्किलले दुई सयजनाको संख्यामा उपस्थित आन्दोलनकारीले परीक्षाकेन्द्रको गेटनजिकै चौरमा केहीबेर नाराबाजी र कोणसभा गरेर फर्के । प्रदेश ५ आदिवासी जनजातिको बाहुल्य भएको प्रदेश हो ।

रुपन्देहीमा मात्रै जनजातिको जनसंख्या दशौं हजार छ । प्रदेशमा थारुको जनसंख्या १५.२ प्रतिशत र मगरको जनसंख्या १५.१ प्रतिशत छ, जुन कूल जनसंख्यामा सबैभन्दा ठूलो हिस्सा हो । कोणसभामा बोल्दै मगर संघ रुपन्देहीका अध्यक्ष विमल सारु,छन्त्याल संघका दलबहादुर छन्त्याल, मनोज राना, छविलाल नेपाली,कलिम मुसलमानले लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत असमावेशी र आरक्षण विरोधी भएकाले आन्दोलन नरोकिने बताएका छन ।

आयोगको परीक्षामा आदिवासी जनजातिका युवायुवती समेत उल्लेख्य मात्रामा सहभागी भएका छन् । आन्दोलनका कारण सरकारले शान्ति सुरक्षाको व्यवस्था मजबुद बनाएको थियो । आन्दोलनकारी नै उपस्थित हुन नसकेकाले र सुरक्षा व्यवस्था मजबुद भएकाले बुटवलका ३४ वटै परीक्षा केन्द्रको परीक्षा शान्तिपूर्णरुपमा सञ्चालन भएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

प्रदेश ५ मा लोकसेवाले आयोगले बुटवल, दाङ र बाग्लुङबाट परीक्षा लिइरहेको छ । त्यसैगरी प्रदेश २ का लागि जलेश्वर परीक्षा केन्द्र ताकिएको छ भने प्रदेश ३ मा काठमाडौं र हेटौंडा परीक्षा केन्द्र तोकिएको छ । प्रदेश ३ मा पनि शान्तिपूर्णरुपमा परीक्षा भएको छ । त्यसैगरी कर्णाली र सुदुरपश्चिम प्रदेशका लागि सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगरमा परीक्षाकेन्द्रहरु तोकिएका छन् । गण्डकी प्रदेशका लागि लोकसेवाले पोखरामा परीक्षाकेन्द्र तोकेको छ ।