खेलकुद

मलेसियामा सम्पन्न तेक्वान्दोमा नेपालले १ स्वर्ण र ६ कांस्य जित्यो

काठमाडौं । मलेसियामा सम्पन्न सरावक चिफ मिनिस्टर अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र ६ कांस्य पदक जितेको छ । मलेसियाको सारावाक कुचिङस्थित कुचिङ स्टेडियममा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालले कुल एक स्वर्ण, एक रजत र ६ कांस्य पदक प्राप्त गरेको हो ।

सुप्रिमा बजगाईंले फाइटतर्फ महिला ३७ केजी तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएको नेपाली टोलीका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । सुप्रिमाले फाइनलमा थाइल्यान्डकी स्वान्चुलाई २३–३ ले स्तब्ध बनाउँदै स्वर्ण पदक आफ्नो बताएकी थिइन् । नेपालले दुई रजत पदक जित्दा फाइटतर्फ महिला खेलाडीले एक दिलाएकी थिइन् ।

क्याडेटमै ४७ केजीमूनि पुजा कुँवरले रजत पदक जितेकी थिइन् । उनी फाइनलमा मलेसियाकी वानसुइसँग ३१–११ ले पराजित भएपछि स्वर्ण जित्ने सपना अधुरो बन्यो । जुनियरको फाइटमा अमर भुजेलले ७३ केजीमूनि रजत जितेका थिए । उनी फाइनलमा ताइपेइका रिसानुनसँग १५–६ ले पराजित भएका थिए ।

नेपालकै बिमला लामा फाइटकै ६२ केजीमुनि सेमिफाइनलमा स्तब्ध भएपछि कांस्यमै खुम्चिइन् । महिलाकै फाइटमा आस्था दाहाल ५२ केजीमुनि सिंगापुरकी हाजिमालीसँग १७–४ ले र अलिसा सुनुवार ३७ केजीमुनि मलेसियाकी तान युयानसँग १७–८ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए । पुरुषतर्फ फाइटमा अभिषेक कटुवाल क्षेत्री, कृतिक भण्डारी र कृस थापाले कांस्य पदक जित्न सफल भए ।

तीनै सेमिफाइनलमा स्तब्ध हुँदा ४५ केजीमुनिमा अभिसेक म्यानमारका रौलडांगिनसँग २३–६ ले, ३६ केजीमुनिमा कृतिक ताइपेइका माग्रेटसँग २५–४ ले र ३३ केजीमुनि कृस ताइवानका अल्भिन पिङसँग १९–१७ ले स्तब्ध भएको नेपाली टोलीका प्रमुख घिसिङले जानकारी दिए । कुमार लामा घिसिङको नेतृत्वमा रहेको नेपाली टोलीमा कुल १७ खेलाडीले प्रतिस्पर्धा गर्दा ११ पुरुष र ६ महिला खेलाडी रहेका थिए । नेपाली टोलीको प्रशिक्षकमा बब्लु सिवाकोटी छन् ।