राजनीति

ठूल्ठूला मुन्द्रा लगाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् ! – मन्त्री अर्याल

पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किने गरी काम गर्न आग्रह गरिन्।

बाहिरै देखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन् । जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त !’ मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्‍नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने साथै गलत काममा भने साथ नदिने बताइन् । काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्,‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् ! इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’

मन्त्रालय नयाँ ढंगबाट अगाडी बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिलेकाँही उर्जा पनि निराश हुनुपर्ने अवस्था आउने गरेको बताइन् । सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस भन्ने अपेक्षा रहेको मन्त्री अर्यालले बताइन् । ‘हामीमाथिऔंला ठडिएको छ । औंला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘हाम्रो आचरणमाथि प्रश्न उठेको छ । प्रश्न उठेपछि सावधानिपुर्वक कामकारबाहीमा कँही प्रश्न नउठोस् भनेर सचेत हुनुस । कँहीनेर प्रश्न पनि नउठोस् । तपाइहरू संस्कारी त बन्दिनुस ।’

सहभागी गण्डकी प्रदेशभरका भूमि तथा नापी कार्यालयका कर्मचारीलाई सचेत गराउदै मन्त्री अर्यालले मन्त्रालयले नीतिगत रुपमा गरेका परिवर्तन व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुने बताइन् । उनले भनिन्, ‘हामीले साँच्चिकै कानुनी रुपमा जे कानुन निर्माण गरेका छौ, त्यो कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुन्छ । यो कार्यान्वयन गर्ने जिम्मा तपाइहरूको हो । तपाइहरूले बढी मेहनत गर्नुपर्ने अवस्था छ ।’

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकिकृत भूमि ऐन बनाउन लागेको बताइन् । सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडी बढ्न आग्रह गर्दै उनले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताइन् । अब जनशक्ति धेरै नभएर जनशक्ति कम गर्दै प्रविधिबाट काम गर्नेगरी मन्त्रालय जान खोजेको बताइन् ।

आफ्नो कामको समिक्षा हरेक क्षेत्रबाट गर्न सकिने भन्दै उनले कुन कार्यालय, विभाग, निकायमा के भइरहेको छ भनेर आफ्नो कार्यकक्षबाट हेर्न सकिने व्यवस्था गरिएको बताइन् । त्यसलाई अब सबै ठाउँको लिंक गर्ने तयारीमा रहेको समेत उनले बताइन्।

प्रविधिलाई जोड्दा छिटो काम हुने भन्दै मन्त्री अर्यालले अब यसलाई जोड दिन कर्मचारीलाई आग्रह गरिन । मन्त्री अर्यालले भनिन्, ‘अहिले थोरै ठाउँमा शुरू गरेको भएर नमुना कार्यालय हो । अब सबैतिर लागु हुन्छ । अबका मालपोत त नापी कार्यालय प्रविधिमैत्री कार्यालय हुन् ।’

कार्यक्रममा बोल्नै मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि र नापी दुवै जग्गा व्यवस्थापनका निम्ती स्थापना गरिएको भन्दै जनतालाई सुविधा हुनेगरी समन्वयतात्मक ढंगले काम गर्न आग्रह गरिन। एउटा काम केन्द्रित र अर्को मुद्रा केन्द्रित जनशक्ति रहेको भन्दै कामकेन्द्रित भएर काम गर्न सचिव गौतमले आग्रह गरिन । भूमि प्रशासन अत्यन्तै  संवेदनशील क्षेत्र भएकाले सचेततापूर्वक काम गर्न कर्मचारीहरुलाई उनले आग्रह गरिन।

कार्यक्रममा बोल्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका  महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले आधुनिक प्रविधि लिएर अगाडी बढिरहेको बताए । नयाँ प्रविधि भएका कारण काममा अभ्यस्त नभएपनि त्यसलाई निपुणताका साथ काम गर्न लागिपरेको बताए । सुधार आफैबाट गर्नुपर्ने मान्यताअनुसार सुधारका प्रयासहरू थालिएको उनीहरूको भनाइ थियो ।