काठमाडौं । प्रेस सङ्गठन नेपालले पत्रकारितामा योगदान पुर्याएका सञ्चारकर्मीलाई विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सङ्गठनको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रममा सङ्गठनद्वारा स्थापित पुरस्कार आज प्रदान गरे ।
उन ‘हृदयचन्द्रसिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मा र ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार रेडियो नेपालका प्रमुख समाचारदाता प्रमोद दाहाललाई प्रमाणपत्रसहित प्रदान गरे। उक्त दुवै पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।
यसैगरी ‘वीरेन्द्र साह क्रियाशील’ पत्रकारिता पुरस्कारबाट झापाका राजु अधिकारी, बझाङका वसन्तप्रताप सिंह र सुनसरीकी समुद्रा प्याकुरेललाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि जनही रु. पाँच हजार रहेको छ ।
यसैगरी रु. पाँच हजार राशिको ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ गोरखाका सुशील अर्याल, धादिङका दीपक रिजाल र सल्यानकी मीना बुढाथोकीलाई प्रदान गरिएको छ । यसैगरी रु. पाँच हजार राशि रहेको ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका दमन राई, रामेछापका युनिकबिफा घिसिङ र बागलुङकी रविना बोहरालाई प्रदान गरिएको छ ।
सङ्गठनका सहसंयोजक गणेश बस्नेतले दुई वर्ष अगाडि घोषणा गरिएको पुरस्कार दुई सङ्गठन एक भएपछि प्रदान गरिएको बताए ।





