काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै पनि नीति नरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा’ विषय कार्यक्रममा उनले सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न नभई सामाजिक सञ्जालबाट हुने विकृति र विसङ्गतिलाई रोक्न भएको बताए ।
“समाजमा सामाजिक सञ्जालका कारण विभिन्न किसिमका विकृति देखिएको छ”, उनले भने, “समाजलाई सही गतिमा लैजानका लागि कानून जरुरी छ, बरु सजाय कति हुनुपर्ने हो ?, संशोधन गर्नुपर्ने व्यवस्थाका विषयमा संसद्मा बृहत् छलफल हुने नै छ ।” शान्ति प्रक्रिया टुङ्ग्याउने प्रक्रियामा सरकार लागिरहेको जानकारी दिँदै उनले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन पाँच सिद्धान्तबाट हेरिएको बताए ।
मन्त्री ज्ञवालीले भने, “ पाँच सिद्वान्त विस्तृत शान्ति सम्झौता, अन्तरराष्ट्रिय सन्धि/सम्झौता, सर्वोच्च अदालतको फैसला, पीडितको भावना र न्यायप्रणाली हुन् ।” सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनाइएको समितिमा सरकारले कुनै पनि हस्तक्षेप नगरेको उनले स्पष्ट पारे ।
दुई आयोगको ऐन संशोधनको अन्तिम तयारी रहेको र आज सातै प्रदेशमा सो ऐनसम्बन्धी छलफल गरेर अन्तिम रुप दिने उल्लेख गर्दै उनले भने, “कतिपयलाई शान्ति प्रक्रिया टुङ्ग्याउने चाहना पनि छैन, कतिको परियोजना पनि चलिरहेको छ तर सत्तापक्ष वा प्रतिपक्ष सबै मिलेर शान्ति प्रक्रियाको अन्तिम काम पूरा गर्नुपर्छ ।”
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो प्रतिवेदन तयार गर्दा बृहतरुपमा छलफल गरेर तयार गर्नुपर्ने र मानव अधिकार आयोग, नागरिक समाज तथा सरकारले मिलेर बनाउनुपर्नेमा जोड उनले दिए । उनले राष्ट्रको विकास र उन्नतिको मूल्याङ्कन गर्ने महत्वपूर्ण पाटाका रुपमा रहेको उक्त प्रतिवेदनले सहयोग गर्ने विश्वास व्यक्त गरे ।





