एजेन्सी । दक्षिण प्रशान्त महासागरबीच रहेको द्विपीय देश फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् ।
विस्थापित ती व्यक्तिहरु शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् । शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ । समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरुमा पनि क्षति पुर्याएको छ ।
“समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,” एक स्थानीयले भने । फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरुले विस्थापितहरुका लागि तत्काल तीन हजार एक सय १५ अस्थायी शिविरहरुको आवश्यकता परेको बताएका छन् ।
आँधीका कारण घरमा क्षति नपुगेकाहरुलाई भने चाडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरुले जानकारी दिएका छन् । “हामीलाई थाहा छ, विस्थापित मध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्दछ, किनकी अहिले अत्यधिक वर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,” वरिष्ठ अधिकृत उरैया रैनिमाले भने ।
उनले अधिकांश घर फर्किन थालिसकेको सूचना आफुहरुलाई प्राप्त भएको पनि जानकारी दिए । आँधी आएको ताभेनी टापुमा झण्डै १९ हजार मानिस बसोवास गर्ने गरेका थिए । त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरुले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् । आँधीकै कारण कसैको मृत्यु भएको खवर भने आएको छैन ।