समाचार

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौ, मन्त्री भट्टराई

काटमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् ।

भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।

“तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ ।” मन्त्री भट्टराईले भने, “यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ । २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ ।”

उनको अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका थिए । सो अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ । २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो । विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ ।

विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आवमा विनियोजनसमेत गरेको छ । ६५ बिघ क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर रहेको छ ।