ब्रेकिङ न्युज

सुकुम्बासीकाे पिडा समेट्दै शंकर लेख्छन् : गणेशकाे जस्तै अर्को घटना सुन्न नपरोस्

२७ असार, काठमाडौं । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल ले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएका छन्।

आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले सञ्चारमाध्यममार्फत व्यक्त गरेका पीडा अत्यन्त गम्भीर, हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका छन्।

उनले असुरक्षित क्षेत्रमा रहेका बस्ती हटाउनुअघि उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको बताएका छन्।

बस्ती हटाउने क्रममा प्रधानमन्त्रीबाट विभिन्न प्रतिबद्धता सार्वजनिक भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

पोखरेलले होल्डिङ सेन्टरको व्यवस्थापन कमजोर भएको, आधारभूत सुविधा अभाव रहेको तथा केही आश्रयस्थल डुवानमा परेको विषयप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले घरबारविहीन बनाइएका नागरिकको न्यायोचित व्यवस्थापनमा सरकारले अविलम्ब पहल गर्नुपर्ने बताएका छन्।

नागरिकलाई त्रास र सास्ती दिएर होइन, सुरक्षित आवास र बाँच्न पाउने अधिकारको सम्मान गरेर मात्र कानुनी राज्यको मर्यादा कायम रहने उनको भनाइ छ।

साथै, गणेश नेपालीको घटनाजस्तै अर्को कुनै अप्रिय घटना दोहोरिन नदिन सरकार समयमै गम्भीर बन्नुपर्नेमा उनले जोड दिएका छन् ।