काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनको मिर्गौलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उनलाई केही दिनपछि निवास फर्काइने जानकारी दिए ।
अस्पतालमा मिर्गौला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रा डा खड्गाले चिकित्सीय हिसाबले उनी आजै घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उनीलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ ।
त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको छ भने । उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्न सक्ने हुनाले सरकारले यसको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीलाई अझै केहीदिन अस्पतालमा नै राख्ने भन्दै डिस्चार्ज हुँदापनि प्रधानमन्त्री निवासमा बिशेष ब्यवस्था हुने ब्यवस्था मिलाउनुपर्ने प्रधानमन्त्रीकी निजी चिकित्शक डा दिब्या सिंहले बताईन् । उनले प्रधानमन्त्री ओलीलाई पुरा ठीक हुन अझै ५ महिना लाग्ने भन्दै परिवारका सदस्यहरुले भने अस्पतालमा नै राखेर उपचार गर्ने सल्लाह दिएको दाबी गरिन् । प्रधानमन्त्री ओली भने छिटोभन्दा छिटो डिस्चार्ज हुन चाहेको उनको भनाई थियो ।





