काठमाडौं । कोरीमा रहेका एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका उत्तरकुमार राईको मृत्यु भएको हो ।
धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार मृत्यु भएको हो । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे मृत्यु भएको हो ।
उनको कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन ।
उनको शवलाई नेपाल पठाउने प्रयास भइरहेको लामाले बताए । राई करिब १० वर्ष अघि कोरिया गएका थिए । मृतक राईका श्रीमती र एक छोरी छन् ।





