खेलकुद

भारतीय क्रिकेट बोर्डको कार्यालय भयो बन्दः घरबाटै काम गर्न कर्मचारीलाई निर्देशन

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएपछि मुम्बईमा रहेको बीसीसीआईले सबै कर्मचारीलाई मङ्गलबारदेखि अनिश्चितकालका लागि छुट्टी दिएको छ । उसले सबै कर्मचारीलाई कार्यालय नआउन आग्रह गर्दै घरबाटै काम गर्न पनि भनेको छ ।

बीसीसीआईले कोरोनाको प्रकोपका कारण आईपीएल र घरेलु क्रिकेट पनि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै सूत्रले भन्यो, बीसीसीआईका कर्मचारीहरुलाई वानखडे स्टेडियममा रहेको बोर्ड का मुख्य कार्यालय कोभिड–१९ को महामारीका कारण बन्द रहने जानकारी दिइएको छ । सबै कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ ।