राजनीति

स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गर्नेलाई अख्तियारले अनुसंधान र कारबाही गर्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामाग्री खरीदमा अनियमीतता भ्रष्टाचार प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ भएको बताएका छन् । उनले अनियमीतता छानबिनको साटो उल्टै ढाकछोप गर्ने प्रयत्न भइ रहेकोे बताएक छन् ।

सभापति देउवाले प्रश बिज्ञप्ती जारी गर्दै अनियमीतता ढाकछोप गर्ने बिरुद्ध लेख्ने पत्रकारलाई उल्टै र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सभापति देउवाले कोरोना सचेतना र सहयोग क्रममा नेपाली कांग्रेसले आफ्ना धारणा, सुझाव र अपिल नियमित रूपमा सार्वजनिक गर्दै आएको स्मरण गर्दै मेडिकल सामग्री खरिद प्रकरणमापनि पार्टीको धारणा सार्वजनिक भइ सकेको भएपनि उक्त प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई गम्भीरतापूर्वक लिएर आफू बोल्न बाध्य भएको बताएका छन् ।

उनले ४ बुंदे ध्यानाकर्षण गराउँदै भनेका छन्ः
(१) कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिबेला हामी सरकारको साथमा छौं र हरसंभव सघाइरहेका छौं । युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौं तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौं । तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पु¥याउने कार्य गरेको छ ।

(२) अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन । यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।

(३) लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।

(४) लक डाउनको प्रतिकूल अवस्थाका बावजुद संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका छन् । यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद छ । काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।

सभापति देउवाले नेपाली कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने बताउँदै आजको संकटसंग जुध्न निरन्तर सरकारको साथमा रहने बताएका छन् ।